कोभिड-१९ पछि अर्थतन्त्रमा ‘भी-सेप’को पुनरुत्थान हुने संकेत
काठमाडौं : विश्वव्यापी कोरोना भाइरस महामारीबाट लामो समय प्रभावित बनेको मुलुकको अर्थतन्त्रमा निरन्तर सुधार देखिन थालेको छ । केन्द्रिय तथ्यांक विभागले बिहीबार सार्वजनिक गरेको राष्ट्रिय लेखा तथ्यांकले चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा आर्थिक वृद्धिदर ४ दशमलव ६ प्रतिशत ऋणात्मक हुने अनुमान गरेको छ । ‘ऋणात्मक’ आर्थिक वृद्धिदर आफैंमा सकारात्मक सूचक होइन । तर, बन्दाबन्दीको समयमा ठूलो क्षति व्यहोरेको अर्थतन्त्रमा सुधारका संकेत देखिएको हो ।
कोभिड-१९ को असर सबैभन्दा बढी गत आर्थिक वर्षको अन्तिम त्रैमासिकमा पर्यो । विभागको तथ्यांकअनुसार त्यो समयमा अघिल्लो अवधिको तुलनामा अर्थतन्त्र १५ दशमलव ४ प्रतिशतले खुम्चिन पुग्यो । गत आवको अन्तिम चौमास र चालु आवको पहिलो त्रैमासबीचको तुलनात्मक अन्तरलाई सुधारको रुपमा लिइएको छ ।
अर्थशास्त्रमा यसलाई ‘भी-सेप रिकभरी’को संकेतको रुपमा अर्थविद्हरू विश्लेषण गर्छन् । तीव्र गतिमा खस्किएको अर्थतन्त्रमा निरन्तर र शीघ्ररुपमा आउने सुधारको प्रक्रियालाई ‘भी-सेप रिकभरी’ भनिन्छ । आर्थिक मन्दी र सुधारको तथ्यलाई चार्टमा हेर्दा अंग्रेजी वर्णमालाको ‘भी’ आकारको चित्र देखिन्छ ।
भी-सेप रिकभरी देखिएको अर्थतन्त्रको ग्राफले सकारात्मक संकेत दिएको अर्थविद् केशव आचार्य बताउँछन् । ‘भी-सेपमा देखिएको ग्राफले सुधारको संकेत देखिएको छ । तर, घट्दो अर्थतन्त्रको तुलनामा कति हदसम्म रिकभरी हुन्छ भन्ने विषयले महत्व राख्छ,’ उनी भन्छन् । अर्थतन्त्रमा पुगेको क्षतिको अनुपातमा सुधारको प्रयास बढाउनुपर्ने भएको उनको भनाइ छ । कोभिड-१९ महामारीले ले ठुलो प्रभाव पारेको पर्यटन र रोजगारीको क्षेत्रमा अझै सुधार आउन सकेको छैन । अन्तर्राष्ट्रिय उडान पूर्णरुपमा सुचारु हुन सकेको छैन ।
नेपालमा २०७२ को भुकम्प र नाकाबन्दीपछि मुलुकको अर्थतन्त्रमा यस्तो किसिमको सुधार देखिएको थियो । भूकम्पपछि लगत्तै अर्को आर्थिक वर्षमा भारतीय नाकाबन्दीका कारण अर्थतन्त्र शून्य दशमलव २ प्रतिशतमा खुम्चेको थियो । तर, भुकम्पपछिको वर्षमा ७ दशमलव ७४ प्रतिशतको आर्थिक वृद्धि भएको थियो । गत असारमा आर्थिक विधेयकको छलफलमा प्रतिनिधी सभा संसद्मा तत्कालीन अर्थमन्त्री डा. युवराज खतिवडाले कोरोना महामारीबाट प्रभावित अर्थतन्त्रमा ‘भी-सेप रिकभरी’ हुने सम्भावना उल्लेख गरेका थिए ।
‘भूकम्पपछिको पुनर्निर्माणमा पनि यो धेरै विषय चलेको थियो कि अब अर्थतन्त्र थला पर्यो उठ्नै सक्दैन भन्ने विषय उठेको थियो । त्यो बेला हाम्रा आर्थिक संरचनाहरू पनि भत्किएका थिए,’ खतिवडाले भनेका थिए, ‘तर हामीले भीसेपको रिकभरी गर्यौं, भूकम्पपछिको पुनर्निर्माणको चरणमा । त्यसैले हाम्रो इतिहास, हाम्रो अनुभव र हाम्रा प्रयासलाई हेर्ने हो भने हामी फेरि पनि भीसेपको रिकभरीमा जान सक्छौं ।’
सरकारले गत आव २०७६/७७ को जेठ महिनाबाटै नियमित हुने अपेक्षा थियो । तर, कोरोनाको असर बढ्दै गएपछि सरकारले असारमसान्त सम्म नै बन्दाबन्दीलाई निरन्तरता दियो । जसले गर्दा अपेक्षा अनुसार अर्थतन्त्रमा सुधार हुन सकेको थिएन । गत आर्थिक वर्ष सरकारले अनुमान गरिए भन्दा निकै घटेर संशोधित अनुमान १.९९ प्रतिशतले कमी आएको विभागले जनाएको छ ।
कोरोना महाव्याधिका कारण तेस्रो चौमासिकमा तथ्यांक विभागले अर्थतन्त्रको विस्तार २.२७ प्रतिशतले हुने प्रक्षेपण गरेको थियो । यो प्रक्षेपण जेठदेखि होटल र रेष्टुरेन्ट र अन्तर्राष्ट्रिय उडानबाहेक अन्य क्षेत्र पूर्ववत् सामान्य अवस्थामा फर्कने अनुमानका आधारमा तयार गरेको थियो ।
यद्यपि कोरोना भाइरसको संक्रमण नियन्त्रणमा आएन । २०७५-७६ मा गत आवमा ३४ खर्ब ५८ अर्ब रुपैयाँ अनुमानित अर्थतन्त्रको आकार २०७६-७७ मा ३७ खर्ब ६७ अर्ब रुपैयाँको हुने केन्द्रीय तथ्यांक विभागको अनुमान थियो ।
गत आवको अन्तिम ४ महिनामा सरकारले गरेको बन्दाबन्दीको असर घरायसी उपभोगमा पनि परेको देखिन्छ । विभागको तथ्यांकअनुसार कोभिड-१९ को सबै भन्दा बढि असर आवास तथा भोजन सेवा र यातायात तथा भण्डारण क्षेत्रमा परेको छ । यी क्षेत्रहरु क्रमशः २५.७ प्रतिशत र १३.४ प्रतिशतले खुम्चिने संशोधित अनुमान छ । साथै थोक तथा खुद्रा व्यापार १०.७ प्रतिशत, औद्योगिक उत्पादन ९.१ प्रतिशत, निर्माण ५.६ र खानी तथा उत्खनन् २.२ प्रतिशतले खुम्चिने संशोधित अनुमान छ । तर केहि औद्योगिक क्षेत्रमा कोभिड-१९ को खासै असर परेको देखिदैन ।
विद्युत तथा ग्याँस क्षेत्र २५.६ प्रतिशत, सार्वजनिक प्रशासन ६.२ प्रतिशत र मानव स्वास्थ्य ५.२ प्रतिशतले सकारात्मक वृद्धि हुने संशोधित अनुमान रहेको छ । बाँकी औद्योगिक क्षेत्रमा न्युन वृद्धि हुने देखिएको विभागले जानकारी दिएको छ ।
चालु आर्थिक वर्षको पहिलो तीन महिनाका केही सूचकहरूले अर्थतन्त्रमा सुधारको संकेत दिएका थिए । सबैभन्दा बढी प्रभावित हुने अनुमान गरिएको वैदेशिक रोजगारीको क्षेत्रमा कोरोनाले ठुलो प्रभाव पारेन । राष्ट्र बैंकको तथ्यांकअनुसार चालु आवको तीन महिनाकै तथ्यांक हेर्ने हो भने रेमिट्यान्स आप्रवाह १२ दशमलव ६ प्रतिशतले बढेको छ ।
बन्दाबन्दीको समयमा आर्थिक गतिविधी ठप्प भएपछि सबैभन्दा बढी प्रभाव वैदेशिक व्यापारमा पर्यो । तर बन्दाबन्दी खुलेपछि वैदिशक व्यापारमा समेत सुधार आउन थालेको छ । तीन महिनाकै समीक्षा अवधिमा निर्यात १४ दशमलव ३ प्रतिशतले बढेको केन्द्रिय बैंकको तथ्यांकले देखाएको छ ।
राष्ट्र बैंकले गरेको एक अध्ययनले कोभिड-१९ का कारण लगाइएको बन्दाबन्दीले ९६ दशमलव ७ प्रतिशत उद्योगहरूको ७३ दशमलव ८ प्रतिशत औद्योगिक कारोबार घटेको देखाएको थियो । जसकारण २२ दशमलव २५ प्रतिशतले रोजगारी गुमाउनुपर्यो ।
सरकारले कोभिड-१९ महामारीको नियन्त्रणका लागि गरेको बन्दाबन्दी र त्यसपछिको समयमा समेत कुनै पनि उद्योग पूर्ण क्षमतामा सञ्चालनमा नआएको उद्योग वाणज्य तथा आपूर्ति मन्त्रालयको सर्वेक्षण तथ्यांकले देखाएको थियो । १०.८१ प्रतिशत पूर्ण बन्द रहेको र ८९.१९ प्रतिशत उद्योग व्यवसाय आंशिक रूपमा सञ्चालनमा छन् । पूर्ण बन्द भएका उद्योगहरूमा लघु तथा घरेलु उद्योगको संख्या ७५ प्रतिशत छ ।
उद्योगहरूको उत्पादन क्षमतामा समेत उल्लेख्य रूपमा गिरावट आएको छ । सर्वेक्षणमा सहभागी उद्योगहरुमध्ये ५४ प्रतिशत उद्योगहरूको ५० प्रतिशतले उत्पादन क्षमतामा ह्रास आएको छ । त्यसै गरी ३२.४३ प्रतिशत उद्योगहरूको ७५ प्रतिशत सम्म उत्पादन गिरावट आएको छ । अध्ययनमा सहभागीहरूमध्ये २३.५२ प्रतिशत लघु घरेलु उद्योगको उत्पादन क्षमता ७५ प्रतिशतले घटेको पाईएको तथ्यांकमा छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया