अर्थ / बाणिज्य

४८,०६९ लाई कोभिड–१९ विरुद्धको बीमा दाबी बापत् ४ अर्ब ६६ करोड भुक्तानी

इकागज |
फागुन २३, २०७७ आइतबार ८:१४ बजे

काठमाडौँः कोभिड–१९ विरुद्धको बीमा दाबीमध्ये ४८ हजार ६९ जनाले दाबी भुक्तानी पाएका छन् । दाबी भुक्तानी फछ्र्यौटबापत् शुक्रबारसम्म ४ अर्ब ६६ करोड ३० लाख रुपैयाँ भुक्तानी भएको बीमा समितिले जनाएको छ । 

बीमा क्षेत्रको नियामक बीमा समितिले बीमा कम्पनीहरूलाई कोभिड–१९ विरुद्धको भुक्तानीलाई तीव्रता दिन आग्रह गर्दै आएको छ । 
बीमा समितिका अनुसार ८४ हजार आठ सय ७४ वटा दाबी भुक्तानीका लागि माग भएका फाइलमा आवश्यक कागजात र विवरणहरू दाबी पाउन योग्य हुने गरी पेश भएको छ । 


दाबी माग भएर आएका मध्ये ४८२ फाइल दाबी पाउन अयोग्य ठहर्‍याइएको छ । बीमा समितिका कार्यकारी निर्देशक राजुरमण पौडेलका अनुसार कतिपय दोहोरो बीमा दाबी माग भएर आएका फाइलहरू समेत भएकाले तिनीहरू दाबीका लागि अयोग्य छन् । 
त्यस्तै, दाबीमध्ये १४ हजार तीन सय ९३ फाइल थप जाँचबुझको क्रममा छन् । 

कतिपय निजी अस्पताल र ल्याबले कोभिड–१९ को पीसीआर परिक्षणमा पोजिटीभ देखिएकाहरूको रिपोर्ट स्वास्थ्य मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखामा उपलब्ध नगराइदिदाँ संक्रमितको तथ्यांकमा नाम समावेश नभएकाले समेत बीमा दाबी फछ्र्यौटमा समस्या भएको बीमा कम्पनीहरूले बताउँदै आएका थिए । 

अहिले पनि वास्थ्य मन्त्रालयको इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखामाबाट स्वीकृत भएर आउनुपर्ने १० हजार नौस ४६ फाइलहरू बाँकी रहेको पौडेलले बताए ।

कोभिड–१९ विरुद्धको बीमा दाबी भुक्तानी फछ्र्यौटमा तीव्रता दिन अर्थमन्त्री विष्णु प्रसाद पौडेलले बीमा समितिलाई दुई पटक निर्देशन दिइसकेका छन् ।
 


Author

थप समाचार
x