अर्थ / बाणिज्य

कला, साहित्य र सँस्कृतिको नयाँ मुकाम — सीजी उन्नति कल्चरल भिलेज

इकागज |
फागुन २५, २०७७ मंगलबार १६:५ बजे

नवलपुरः चौधरी ग्रुप (सीजी) अन्तर्गतको सामाजिक उत्तरदायित्व वहन गर्ने निकाय चौधरी फाउण्डेसनले नवलपुरको हर्कपुरमा ‘सीजी उन्नति कल्चरल भिलेज’ स्थापना गरेको छ । राष्ट्रको कला, सँस्कृती, साहित्य, वेशभुषा, आर्टस्, क्राफ्ट, नाटक, संगितको प्रवर्धनका लागि सीजीले कल्चरल भिलेजको स्थापना गरेको हो ।  

सीजी उन्नती कल्चरल भिलेज प्राकृतिक सुन्दरताकाबीच अवस्थित छ । चारैतिर हरियाली छ । यहाँ थारू संस्कृति झल्काउने रेस्टुराँ, अतिथिगृह र कोठाहरू छन् । चित्रमा थारू जातिका विभिन्न मेलामहोत्सव र पर्वबारे जानकारी छन् । थारू जातिका दैनिकी झल्किने वस्तु छन् । यो कल्चरल भिलेजमा थारु समुदायको सिंगो तस्बिर कुँदिएको छ ।


भिलेजका विशेषता 

चितवनको नारायणगढ बजारबाट करिब १२ किलोमिटर दूरीमा रहेको यस भिलेजमा आर्टस् एण्ड क्राफ्ट, कल्चर, गेष्ट स्पेस र एक्पिरियन्स लगायतका कम्पोनेन्टहरू रहेका छन् ।

आर्टस् एण्ड क्राफ्ट अन्तर्गत सम्पदा (आर्ट ग्यालरी),  रँगमञ्च (एमपीथियटर) बाटिका (गार्डेन अफ आर्टस्), निशर्ग सयर (नेचर वकवेज), क्राफ्ट म्युजियम, नेपाल क्राफ्ट, दि एटिलियर (क्रियटिभ स्टुडियो) रहेका छन् । 

कल्चर अन्तर्गत थारू गाउँ, बाहरी (लाइभ किचन), बडाघर (डाइनिङ) डबली, गदला मोद (बार) रहेका छन् । गेष्ट स्पेस अन्तर्गत कला घर (आर्ट होटल) बोधि कुञ्ज (आर्ट रेसिडेन्सी) देहारी (थारू घर), आथित्य (मल्टिपर्पोज ब्लक) रहेका छन् ।  एक्पिरियन्स अन्तर्गत आर्ट एण्ड क्राफ्ट, थारू कल्चर, यथ्निक कुजिन, हस्पिटालिटी, अर्गानिक फार्मिङ रहेका छन् ।   

सांस्कृतिक हिसाबले यहाँ थारू गाउँ छ । यसअन्तर्गत थारू डबली, थारू बार छन् । थारू बारलाई ‘गदला मोद’ नाउँ दिइएको छ । थारू संस्कृतिमा गदला भनेको जाँड र मोद भनेको रक्सी हो । अरू संरचनाको नाउँ पनि यसैगरी राखिएको छ । भिलेजमा थारू मात्र नभएर अन्य विभिन्न संस्कृतिका विषयलाई पनि प्रस्तुत गरिनेछ ।

करिब ६ बिघा जग्गामा फैलिएको भिलेजमा नेपाली कलाको संग्रहालय पनि छ । कला र साहित्यको प्रवद्र्धनका लागि भनेर कला केन्द्र बनाइएको छ । कलाघर पनि यहीँ छ, जहाँ सर्जकहरू आएर सिर्जना गर्न सक्छन् । अर्गानिक खेतीपातीको प्रवर्द्धन र विभिन्न खाद्यान्न उत्पादन गर्ने तरिका प्रदर्शनी गर्न यहाँ विशेष स्थान छुट्याइएको छ ।

यहाँको थारू रेस्टुराँमा आउने पाहुनाका लागि यहीँका उत्पादन पस्किइनेछ । सँगै थकाली र नेपाली परम्परागत खानाको स्वाद पनि चखाइनेछ ।

भिलेजमा ‘कल्चरल मल्टीपर्पस हल’ पनि हुनेछ, जहाँ कल्चरल ब्यांक्वेटिङ, सभासमारोह, बैठक, सांस्कृतिक प्रदर्शनी हुनेछन् । भिलेजमा ‘कला बाटिका’का लागि छुट्टै ठाउँ तयार गरिएको छ । यसमा १८ वटा स्थान छुट्याइएका छन्, जसलाई ‘ओपन एयर म्युजियम’ भनिएको छ । यहाँ कलाकारले आफ्ना कलाकृति सिर्जना गर्नेछन्, जसलाई यहीँ प्रदर्शनीमा राखिनेछ ।

भिलेजमा स्थानीय हस्तकलाका विभिन्न साधन उत्पादन पनि हुनेछन् । त्यसका लागि यहीँ दक्ष जनशक्ति उत्पादन गर्ने र उत्पादनहरूलाई बजारसम्म पहुँच पुर्‍याउने योजना छ । नेपाली शिल्प एवम् कलाबारे रुचि जगाउन ‘हिस्ट्री म्युजियम’ पनि बनाइएको छ, जहाँ नेपाली शिल्पीका प्राचीन, मध्यकालीन र आधुनिक शिल्पहरू हुनेछन् ।

थारुसँगै अन्य समुदायका संस्कृतिलाई पनि भिलेजले समाहित गर्नेछ । नवलपुर क्षेत्रका माझी, बोटे, दराई, मगरलगायतका संस्कृति पनि यहाँ हुनेछन् । घाटु, सोरठीजस्ता नाच प्रदर्शन गरिनेछ ।

नेपालका सबै कलाकार एवम् साहित्यकार आएर यहाँ आफ्नो कला एवम् साहित्य सिर्जना गर्न सकून् भन्ने भिलेजको लक्ष्य हो ।

भिलेजको अवधारणाले रोजगारी सिर्जनालाई प्रोत्साहन गर्छ नै, सँगै यसले स्वरोजगारीलाई पनि समानान्तर रूपमा बढाउनेछ । स्वरोजगारका बृहत्तर योजनामा भिलेजले काम गरिरहेको छ । स्थानीयलाई नै सहभागी गराइने भएकाले हस्तकलाका सामग्री उत्पादनदेखि अतिथि सत्कारसम्म उनीहरू नै अग्रपंक्तिमा रहनेछन् ।

साहित्य महोत्सबको आयोजना 

यही सीजी उन्नती कल्चरल भिजेलमा फागुन २८ गतेदेखि उन्नतीसँगको सहकार्यमा दुईदिने ‘फाइनप्रिन्ट फिभर’ महोत्सव आयोजना हुँदै छ । सोही दिन कल्चरल भिलेजको उद्घाटनलगत्तै यो महोत्सव शुरू हुनेछ । 

महोत्सवमा कलाकार अनिल शाही र उनको ब्यान्डले सांस्कृतिक प्रस्तुति दिनेछ । वरिष्ठ कलाकार गोपाल कलाप्रेमी श्रेष्ठले बोल्नेछन् । डा. बाबुराम भट्टराईसँग जीवन क्षेत्रीले ‘गुमनाम आमाका कथा’बारे कुरा गर्नेछन् । अभिनेतृ मनीषा कोइरालासँग पत्रकार स्वरूप आचार्यले ‘जिजीविषा’बारे विशेष संवाद गर्नेछन् । माननीय सांसद गगन थापा र व्यवसायी/लेखक जीवा लामिछानेबीच ‘देश देशावर’को कुरा हुनेछ । ‘पुँजीवाद र स्वतन्त्र समाजका आधारहरू’मा लेखक/अध्येता हरि शर्मा र मुराहरी पराजुलीबीच छलफल हुनेछ ।

प्रतीक्षा कट्टेलले लेखक निरञ्जन कुवँरसँग उनको नयाँ पुस्तक ‘बिटविन क्विन्स एन्ड द सिटिज’को सेरोफेरोमा रहेर कुरा गर्नेछिन् । ‘क’ कविता संग्रहका लेखक असीम सागरसँग उपन्यासकार अमर न्यौपानेको संवाद हुनेछ । पत्रकार रवि लामिछाने र विवेकशील साझा पार्टीका अध्यक्ष रवीन्द्र मिश्रबीच ‘राजनीतिमा राजकाज’माथि रोचक शास्त्रार्थ हुनेछ । माननीय प्रदीप गिरिले नागरिक आन्दोलन र देवेन्द्रराज पाण्डेमाथि विद्वत् प्रवचन दिनेछन् । आफ्नो पुस्तक पठनको शुरुवाती दिनबारे बोल्दै कलाकार राजेश हमालले पुराना दिन सम्झिनेछन् । युवाकेन्द्रित उपन्यासकार सुविन भट्टराई र भर्खर ‘रहर’ कथासंग्रह लिएर उदाएका सुरेश बडालबीच रमाइलो संवाद हुनेछ । डा. बाबुराम भट्टराई र सीजी फाउन्डेसन/सीजी कर्प ग्लोबका अध्यक्ष विनोद चौधरीबीच अर्थतन्त्र, विकास र समृद्धिबारे रोचक कुराकानी हुनेछ ।


Author

थप समाचार
x