शोधनान्तर बचत २७ अर्बले घट्यो, उच्चतम् बिन्दुबाट ४४ अर्ब घट्यो विनिमय सञ्चिति
काठमाडौं : शोधनान्तर बचत माघमा २७ अर्ब ५६ करोड रुपैयाँले घटेको छ । आयात बढ्न थालेपछि मुलुकबाट रकम बाहरिन थालेपछि शोधनान्तर बचत घटेको हो ।
कोभिड-१९ को प्रभावले आर्थिक कारोबार सस्त बनेपछि गत पुससम्म शोधनान्तर स्थिति एक खर्ब २४ अर्ब ९४ करोड रुपैयाँ बचतमा थियो । पुससम्म आयात गत आर्थिक वर्षको ६ महिनाको तुलनामा ४.८ प्रतिशत कम थियो । तर, माघमा आयातमा भएको उल्लेख्य वृद्धिले शोधनान्तर स्थितिमा चाप परेको हो ।
सात महिनामा आयात ०.०१ प्रतिशतले बढेको राष्ट्र बैंकको तथ्यांकले देखाएको छ । यस अवधिमा ८ खर्ब ३ अर्ब ६४ करोड रुपैयाँ बराबर वस्तु आयात भएका छन् । यो परिमाण पोहोरको सात महिनाकै हाराहारी हो ।
सात महिनामा निर्यात बढे पनि अघिल्लो वर्षको तुलनामा वृद्धिदर निकै कम छ । यस अवधिमा ७ दशमलव ६ प्रतिशतले निर्यात बढेको छ । तर, अघिल्लो वर्ष यहीँ अवधिमा निर्यात २२.४ प्रतिशतले बढेको थियो ।
पुसको तुलनामा रेमिट्यान्स भित्रिने क्रममा पनि खासै ठूलो फरक छैन । राष्ट्र बैंकका अनुसार सात महिनामा रेमिट्यान्सको वृद्धिदर १० दशमलव ९ प्रतिशतको छ । यो वृद्धिसँगै सात महिनामा ५ खर्ब ६७ अर्ब रुपैयाँ बराबरको रेमिट्यान्स भित्रिएको छ ।
गत वर्षको भन्दा कम वृद्धिदरसहित विदेशी मुद्रा सञ्चिति ७ महिनामा ६ खर्ब ९८ अर्ब रुपैयाँ पुगेको छ । गत वर्षको २२ प्रतिशत रहेको वृद्धिदर यो वर्षको सात महिनामा ५ प्रतिशतको हाराहारी छ ।
गत कात्तिकसम्म १५ खर्ब ६ अर्ब रुपैयाँसम्म पुगेको विनिमय सञ्चिति घट्न थालेको छ । समीक्षा अवधिसम्म आइपुग्दा विदेशी विनिमय सञ्चिति ४४ अर्ब रुपैयाँसम्म घटिसकेको छ ।
मंसिरदेखि यो सञ्चितिमा कमी आउँदा पनि पुसमा बढेको थियो । तर, माघसम्म आइपुग्दा विनिमय सञ्चिति घटेर १४ खर्ब ६२ अर्ब पुगेको छ ।
यो सञ्चिति १३ महिना १ दिनको वस्तु आयातलाई मात्र धान्न पुग्ने राष्ट्र बैंकले जानकारी दिएको छ । १५ खर्ब ६ अर्ब रुपैयाँको उच्चतम् बिन्दुमा पुगेको अवस्थामा १५ महिना ४ दिनसम्मको वस्तु आयात धान्न पुग्थ्यो ।
समग्र वित्तीय सूचकहरूले बजारमा वस्तु तथा सेवाको माग बढ्न थालेको देखिए पनि माघमा उपभोक्ता मुद्रास्फिती (महँगी) भने २ दशमलव ७० प्रतिशतमा सीमित छ । अघिल्लो वर्ष माघ महिनामा महँगी ६.८७ प्रतिशत थियो । जबकी अघिल्लो पुसमा पनि महँगी ३.५६ प्रतिशत थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया