अर्थ / बाणिज्य

बोटलर्स नेपालविरुद्ध ७ अर्बको राजस्व छलीको मुद्दा

इकागज |
फागुन २७, २०७८ शुक्रबार १६:३४ बजे

काठमाडौँ – बोटलर्स नेपाल लिमिटेडको सेयर बिक्रीमा पुँजीगत लाभकर छली भएकोमा ७ अर्ब ४३ करोड ६३ लाख रुपैयाँ बिगो र जरिवाना दाबी गर्दै उच्च अदालत पाटनमा मुद्दा दायर भएको छ । बोटलर्स नेपालको सेयर २०७१ कात्तिक ७ मा दुबईस्थित कम्पनी कोकाकोला साब्को एसियाले आयरल्यान्डको यूरोपियन रिफ्रेसमेन्टलाई बिक्री गर्दा पुँजीगत लाभ कर नतिरेको पाइएको छ ।

कोकाकोला साब्को र यूरोपियन रिफ्रेसमेन्टबीच सेयर कारोबार हुँदा बोटलर्स नेपालको सेयर मूल्य प्रतिकित्ता ३,८८३ रुपैया थियो । कोकाकोला साब्कोले यो सेयर प्रतिकित्ता ५३६ रुपैयाँमा किनेको थियो । उसले किनेको र बेचेको सेयरको मूल्य अन्तर अथवा साब्कोलाई लाभ हरेक कित्ता सेयरमा ३,३४७ रुपैयाँ रहेको थियो । 
साब्कोले युरोपियन रिफ्रेसमेन्टलाई १४ लाख ८४ हजार तीन सय एक कित्ता सेयर ४ अर्ब ९६ करोड ७९ हजार ५५ लाख चार सय ४७ रुपैयाँ पुँजीगत लाभ प्राप्त गरेकोमा सो अनुसार लाग्ने लाभकर भने नबुझाइएको पाइएको थियो । 


उक्त कारोबारमा २५ प्रतिशत पुँजीगत लाभ कर लाग्नेमा खरिदकर्ताले नै स्रोतमा करकट्टाको प्रावधान अनुसार १५ प्रतिशत र बिक्रीकर्ताले १० प्रतिशत बुझाउनुपर्छ । तर कम्पनीले विदेशमा भएको सेयर बिक्री र कम्पनीको स्वामित्वमा आएको परिवर्तन अनुसारको कर दायित्व वहन नगरी राजस्व चुहावट गराउने नियत राखेकाले राजस्व चुहावट (अनुसन्धान तथा नियन्त्रण) ऐन अनुसार ३ अर्ब ७१ करोड ८१ लाख ५० हजार चार सय ११ रुपैयाँ बिगो र शतप्रतिशत जरिवाना कायम गरी साब्को एसियाबाट प्रतिनिधित्व गर्ने बोर्ड सदस्यहरू र प्रबन्ध निर्देशक तथा लेखापरीक्षणमा संलग्नहरूलाई समेत प्रतिवादी बनाई मुद्दा दायर गरेको छ । 
 


Author

थप समाचार
x