अर्थ / बाणिज्य

सेयर भाउ बढाउन लन्डन स्टक एक्सचेञ्‍जमा सूचीकृत हुने निफ्राको हल्लाबाजी

नेप्सेले तीन दिनभित्र जवाफ माग्यो

इकागज |
चैत ४, २०७७ बुधबार १२:३४ बजे

काठमाडौं : नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले सेयर मूल्य प्रभावित पार्ने गरी प्रचारबाजी गरेको भन्दै नेपाल स्टक एक्सचेञ्‍ज (नेप्से)ले उसलाई स्पष्टिकरण सोधेको छ । नेप्सेले सम्बन्धीत निकायलाई जानकारी नगराई यस्तो प्रचारबाजी गरेको बताएको हो ।

गत आइतबार केही आर्थिक पत्रकारहरूलाई बोलाएर निफ्राका प्रमुख कार्यकारी अधिकृत रामकृष्ण खतिवडा आफैले चालु आर्थिक वर्षभित्रै लन्डन स्टक एक्सचेञ्‍जमा ३० मिलियन डलर बराबर बन्ड जारी गर्न लागेको सूचना दिएका थिए । त्यति मात्रै होइन उनले राष्ट्र बैंकबाटै स्वीकृति पाइसकेको जानकारी दिएका थिए ।

सरकारी स्वामित्वको एक सञ्‍चारमाध्यमले समेत निफ्रा लन्डन स्टक एक्सचेञ्‍जमा सूचीकृत हुने शिर्षकमा समाचार प्रकाशित गरेको थियो । विभिन्‍न सञ्‍चारमाध्यममा समेत यस्तो सूचना आएपछि नेप्सेले निफ्रासँग प्रष्टिकरण मागेको हो ।


उसले सोधेको छ, 'सत्य तथ्य के कसो भएको हो? चालु आर्थिक वर्षभित्रमा नै ८.५ प्रतिशतको ब्याज तोकी यस कम्पनीले बन्ड जारी गर्ने र सो लन्डन स्टक एक्सचेञ्‍जमा सूचीकृत हुने भन्‍ने समाचार के कति मात्रामा सत्य हो ?'

निफ्राले रणनीतिक साझेदार भित्र्याउने विषयमा समेत नेप्सेले चासो देखाएको छ । कम्पनीको मुनाफाबाट १० प्रतिशत लाभांश वितरण गर्ने विषयबारे स्पष्टीकरण दिन ३ दिनको समय दिएको छ ।


Author

थप समाचार
x