अर्थ / बाणिज्य

एडीबीले तीन वर्षमा ५० देखि ६० करोड डलर सहुलियत ऋण दिने

इकागज |
चैत ५, २०७८ शनिबार १३:४३ बजे

काठमाडौँ– एसियाली विकास बैंक (एडीबी)का दक्षिण एसिया महानिर्देशक केनिची योकोयामाले चार दिने नेपाल भ्रमण सम्पन्न गर्दै नेपालको विकास प्रयास र कोभिड–१९ महामारीपछिको आर्थिक पुनरुत्थानका लागि सहयोग सुदृढीकरण गर्ने बताएका छन् । जापानी मूलका योकोयामा सन् २०१२ देखि सन् २०१७ सम्म नेपालमा राष्ट्रिय निर्देशकका रूपमा काम गरेका थिए ।

‘काठमाडौँमा आएर यहाँका उच्च पदस्थ सरकारी अधिकारीहरूसँग एडीबी सहयोगका परियोजना, एडीबी र नेपालको साझेदारी तथा मूलभूत रणनीतिक मार्गदर्शनकाबारेमा छलफल गर्न पाउँदा मलाई अत्यन्तै खुसी लागेको छ । एडीबी महामारी प्रताडीत नेपाली अर्थतन्त्रको हरित, उत्थानशील र समावेशी पुनरुत्थानमा सहयोग बढाउन प्रतिवद्ध छ, जसले नेपालमा दिगो आर्थिक विकासका साथै नेपालीहरूको जनजीविकामा सुधार र जलवायु परिवर्तनजन्य प्रभावसँग सामना गर्न सक्ने उत्थानशीलता विकास गर्न सहयोग पुग्नेछ,’ योकोयामालाई उद्धृत गर्दै एडीबी नेपाल नियोगले भनेको छ । 


‘सार्वजनिक सेवा प्रवाहको जिम्मा स्थानीय तहमा हस्तान्तरण गरेसँगै अबको ध्यान संरचनागत सुधार तथा पूर्वाधार र मानव पुँजीमा गुणस्तरीय लगानी अभिवृद्धि गर्नेतर्फ केन्द्रित हुनुपर्छ, निजी लगानी तथा प्रत्यक्ष वैदेशिक लगानीलाई समेत प्रोत्साहीत गर्न यो आवश्यक छ । यसले कृषि, औद्योगिक उत्पादन र सेवाको उत्पादकत्व बढाउँछ– उच्च आर्थिक विकासका लागि यो अत्यावश्यक छ ।’

एडीबीका दक्षिण एसिया महानिर्देशक योकोयामाले अर्थमन्त्री जनार्दन शर्मासँगको भेटमा महामारीले जनस्वास्थ्य, कल्याणकारी कार्यहरू, अर्थतन्त्र, ८० प्रतिशत जनसंख्यामा पूर्णमात्रा खोप पुर्‍याउने कार्यको प्रशंशा गरेका थिए । उनले अर्थमन्त्रालयको नेतृत्वले विकासका कार्यक्रम र सुधारका काम समयमा, दक्षतापूर्वक र गुणस्तरीय ढंगले सम्पन्न हुने अपेक्षा रहेको बताएका थिए ।

एडीबी दक्षिण एसिया महानिर्देशक भन्छन्, ‘नेपालको विकास र महामारीपछिको पुनर्बहालीमा सहयोग गर्छौं’

चार दिने भ्रमणका क्रममा योकोयामाले संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले, खानेपानी मन्त्री उमाकान्त चौधरी, सहरी विकास मन्त्री रामकुमारी झाँक्री, उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री पम्फा भुषाल, भौतिक पूर्वाधार तथा यातायात मन्त्री रेणुकुमारी यादवसँग भेटेका थिए । उनले विभिन्न मन्त्रालयका सचिव, उच्च पदस्थ अधिकारीहरू, परियोजनाका कर्मचारी र विकास साझेदारका प्रतिनिधिहरूसँग भेटघाट गरेको एडीबी नेपाल नियोगले जनाएको छ । 

योकोयामाले एडीबी सहयोगमा निर्माणाधीन काठमाडौँ उपत्यका फोहोरपानी व्यवस्थापन परियोजनास्थलको अवलोकन गरेका थिए । १३.७ करोड अमेरिकी डलर लागतको यस परियोजनाले काठमाडौँ उपत्यकामा फोहोरपानी शुद्धीकरण सुविधाको विस्तार गर्नेछ । 

एडीबीको नेपालमा वार्षिक ऋण लगानी सन् २०१५ देखि २०१७ औसतमा ३० करोड अमेरिकी डलर रहेकोमा सन् २०१८ देखि २०२० को अवधिमा औसत ६० करोड अमेरिकी डलर पुगेको छ ।

योकोयामाले नेपाल सरकारको दिगो र समावेशी आर्थिक विकासको सोचलाई कार्यान्वयन गर्न एडीबीले आगामी तीन वर्षमा ५० देखि ६० करोड अमेरिकी डलर सहुलियत ऋण प्रदान गर्ने उल्लेख गरेका छन् ।

एडीबीले सन् २०२० को मे महिनामा कोभिड–१९ महामारी प्रतिकार्यका लागि नेपाललाई बजेटरी सहयोग हुनेगरी २५ करोड अमेरिकी डलर सहुलियतपूर्ण ऋण उपलब्ध गराएको थियो । महामारी नियन्त्रण र रोकथाम तथा आर्थिक रूपले जोखिमयुक्त समुदायको संरक्षण तथा साना व्यवसायको राहतका लागि यो सहयोग प्रदान गरिएको थियो । एडीबीले सन् २०२१ को जुलाईमा ६८ लाख व्यक्तिका लागि खोप खरिदका लागि १६.५ करोड डलर उपलब्ध गराएको थियो ।


Author

थप समाचार
x