अर्थ / बाणिज्य

आईएफसी र नेप्से लैंगिक समानता प्रवर्द्धनका लागि ‘रिङ द बेल फर जेन्डर इक्वालिटी’मा सहभागी

इकागज |
चैत ८, २०७८ मंगलबार १८:१७ बजे

काठमाडौँ– लगातार दोस्रो वर्ष पनि अन्तर्राष्ट्रिय वित्त निगम (आईएफसी) र नेपाल स्टक एक्सचेन्ज (नेप्से)बीच ‘रिङ द बेल फर जेन्डर इक्वालिटी’का लागी सहभागी भएका छन् । यस विश्वव्यापी वार्षिक कार्यक्रमले कसरी निजी क्षेत्रले विश्व अर्थतन्त्रमा महिलाको सहभागिता र दिगो विकासलाई प्रोत्साहनमा जोड दिन्छ ।

लैंगिक समानताको गति बढाउँदा उदयमान तथा उम्दा बजारमा महत्वपूर्ण आर्थिक, वातावरणीय, सामाजिक र सुशासनको लाभ प्राप्त हुन्छ । सस्टेनेबल स्टक एक्स्चेन्जस इनिसियटीभका अनुसार, यदि औपचारिक श्रम बजारमा महिला सहभागिता पूर्ण रूपमा भएको खण्डमा विश्वको कुल गार्हस्थ उत्पादन २,८०० अर्ब अमेरिकी डलरले विस्तार हुनेछ ।


‘लगतार दोस्रो वर्षका लागि हामीले ‘रिङ द बेल फर जेन्डर इक्वालिटी’ कार्यक्रमका लागि आईएफसी तथा संयुक्त राष्ट्रसंघीय ग्लोबल कम्प्याक्ट नेपालसँग सहकार्य गरेका छौं,’ नेप्सेका सीईओ कृष्णबहादुर कार्कीले भने, ‘लैंगिक समानता प्रवर्धनका लागि सूचीकृत कम्पनीहरूलाई मुखरित गर्न स्टक एक्सचेन्जहरूले भूमिका खेल्न सक्छन् भन्ने हामीलाई हेक्का छ ।’

अनुसन्धान निकायहरूले तिनका अनुसन्धानमा धेरै प्रकारका व्यवसायमा कर्पोरेटको सञ्चालक समिति वा उच्च व्यवस्थापन तहमा लैंगिक विविधतासँग व्यवसायिक लाभ जोडिने निष्कर्ष निकालेका छन् । लैंगिक–विविधतायुक्त व्यवस्थापन तथा सञ्चालनक समितिले कम्पनीको दिगोपना (स्थायित्व), वित्तीय कार्यसम्पादनमा सुधार, सेयरधनी लाभ तथा लगानीकर्ताको मनोबलमा वृद्धि लगायत सकारात्मक प्रभाव पार्ने चर्चा गरिएको छ ।

‘विश्वव्यापी महामारीबाट देशहरू क्रमशः पुनर्बहाली हुँदैछन्, अत्याधिक महिला सहभागितामा जोड दिदैं पुनर्बहालीको प्रक्रियालाई तीव्रता दिन यो उपयुक्त समय हो,’ संयुक्त राष्ट्रसंघीय ग्लोबल कम्प्याक्ट नेटवर्कका अध्यक्ष प्रदीपमान वैद्यले भने ।

नेपालमा कर्पोरेट सञ्चालक समितिमा महिलाको प्रतिनिधित्व अत्यन्तै कम छ । नेपालको उर्जा क्षेत्रमा आईएफसीले गरेको एक अध्ययनले २० कम्पनीका १३२ जना सञ्चालक समिति सदस्यमध्ये केवल १२ जना (९ प्रतिशत)मात्र महिला रहेको पाइएको थियो । नेपालको कम्पनी ऐन, २०६६ ले एक जना महिला सेयरधनीलाई सञ्चालक समितिमा प्रतिनिधित्व गराउनुपर्ने व्यवस्था गरेपनि, १० कम्पनीमध्ये तीन कम्पनीमा मात्र महिला सञ्चालक छन् ।

‘रिङ द बेल इनिसियटीभ’ लैंगिक समानता प्रवर्धन तथा समावेशी आर्थिक वृद्धिलाई गति दिन स्टक एक्स्चेन्जको उत्प्रेरक भूमिका रहनेगरी डिजाइन गरिएको हो,’ नेपालका लागि आईएफसीका आवासीय प्रतिनिधि बाबाकर फायेले भने, ‘निजी क्षेत्रका कम्पनीहरूको प्रतिबद्धता हेर्दा उत्साहीत छु, यहाँ आईएफसीसँग महिलाको पहलमा सञ्चालित पहल (पावर्ड बाइ वुमन इनिसियटीभ) अन्तर्गत काम गरेका उर्जा क्षेत्रका १९ कम्पनीले समान अवसर प्रदर्शित गरेका छन् ।’

आईएफसी पुँजी बजारको तहमा महिलालाई आर्थिक क्षेत्रका सञ्चालक बनाउन पहल गरिरहेको छ । यस कार्यभित्र महिलालाई नेतृत्वदायी क्षमतामा अग्रसर गराउने, नियामकीय निकायलाई लैंगिक सूचकलाई कर्पोरेट सुशासन संहिता (नियमावली)मा एकीकृत गर्ने, ‘रिङ द बेल फर जेन्डर इक्वालिटी’ कार्यक्रमको सह–प्रयोजन गर्ने लगायतका गतिविधि अन्तर्राष्ट्रिय महिला दिवससँग आवद्ध गरी समावेश गरिएको छ । यस वर्ष, विश्वभरबाट अहिलेसम्मकै उच्च १२० स्टक एक्सचेन्जहरूले सहभागिता जनाउँदैछन्, सन् २०१५ मा १० भन्दा कम स्टक एक्सचेन्जले यसमा सहभागिता जनाएका थिए ।
 


Author

थप समाचार
x