अर्थ / बाणिज्य

नेपालबाट निर्यात हुने खानेतेलमा रोक लगाउने भारतको संकेत

अस्वाभाविक निर्यातमा दूतावासले खोज्यो उत्पत्तिको प्रमाणपत्र

पवन तिमिल्सिना |
चैत ६, २०७७ शुक्रबार १८:५३ बजे

काठमाडौं : नेपालबाट अस्वाभाविक मात्रामा भारततर्फ निर्यात भइरहेको खानेतेलबारे भारतले चासो देखाएको छ । भारतीय दूतावासले परराष्ट्र मन्त्रालयसँग त्यस्तो तेलको उत्पत्तिको प्रमाणपत्रको आधिकारिकता समेत मागेको छ ।

पछिल्लो समय नेपालबाट अस्वाभाविक मात्रामा भटमासको तेल निर्यात भइरहेको भन्सार विभागकै तथ्यांकले देखाउँछ । विभागको तथ्यांकअनुसार चालू आर्थिक वर्षको पहिलो ८ महिनामा २३ अर्ब १२ करोड रुपैयाँ बराबर भटमासको तेल निर्यात भएको छ । गत आवको सात महिनामा १९ अर्ब ५९ करोड रुपैयाँ मात्रै भटमासको तेल आयात भएको थियो ।


नेपालमा ठूलो परिमाणमा खेती नहुने भटमासको तेल निर्यात भएपछि सरोकारवालाहरूले चासो देखाएका थिए । पाम आयलकै बाटोमा भटमासको तेल जाने आकलन गरिएको थियो । पाम आयलको सन्दर्भमा भारतले मूल्य अभिवृद्धिको विषयलाई लिएर आशंका व्यक्त गरेको थियो । नेपाली पक्षले चित्तबुझ्दो जवाफ नदिएपछि भारतले पाम आयलमा प्रतिबन्ध लगायो । 

खानेतेलको विषयमा पनि पाम आयलकै नियति दोहोरिने देखिएको छ । भन्सार विभागको तथ्यांकले अस्वाभाविक निर्यातको तथ्यांक देखाइरहँदा सरकारी पक्ष ‘कानमा तेल’ हालेर बस्यो । तर, भारतले तेलको उत्पत्तिको प्रमाणपत्र मागेपछि वाणिज्य मन्त्रालयका कर्मचारीहरू बल्ल छलफलमा जुटेका छन् । दूतावासले पठाएको पत्रमा दक्षिण एसियाली क्षेत्रीय संगठन सार्क अन्तर्गत दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र सम्झौता (साफ्टा) को दफा १५ लाई आधार बनाई उत्पत्तिको प्रमाणपत्रको आधकारिता खोजेको छ । 

साफ्टाअनुसार आयातकर्ता मुलुकले आफ्नो मुलुकमा आयात हुने वस्तुको उत्पत्तिको विषयमा आशंका लागेमा निर्यातकर्ता मुलुकसँग पूर्वप्रभावी जाँचका लागि निवदेन दिन सक्छ । त्यति मात्र होइन, आयात गर्ने मुलुकले जाँच सम्पन्न नभएसम्म त्यस्तो वस्तुमा दिइरहेको सहुलियतपूर्ण व्यवस्था हटाउन सक्छ । यही व्यवस्थाको अधीनमा रहेर आफूले उत्पत्तिको प्रमाणपत्र मागेको दूतावासले जानकारी दिएको छ । 

आठ महिनामा भटमास मात्र होइन सूर्यमुखी तेलको समेत आयात बढेको देखिन्छ । जबकि गत आर्थिक वर्षमा सूर्यमुखी तेल निर्यात नभएको तथ्यांकले देखाउँछ । 

कच्चा तेलको आयात गरेर प्रशोधन
चालू आर्थिक वर्षमा कच्चा तेलको आयात बढेको छ । भारततर्फ निर्यात भइरहेको भटमास तेलकै परिमाणभन्दा कच्चा तेलको आयात भइरहेको भन्सारको तथ्यांकले देखाएको छ । आठ महिनामा २४ अर्ब रुपैयाँ बराबरको कच्चा भटमासको तेल आयात भएको छ । जबकि गत आर्थिक वर्षभरिकै तथ्यांकअनुसार १८ अर्ब रुपैयाँ ७२ करोड रुपैयाँ मात्रै कच्चा तेल आयात भएको देखिन्छ । 

यसले निर्यात गरिएको प्रशोधित सूर्यमुखी तेलका लागि कच्चापदार्थ विदेशबाटै आयात भएको तथ्यांकमा प्रष्ट हुन्छ । नेपाली व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्रको लाभ उठाउँदै नेपालमा तेल प्रशोधन गरेर भारत निर्यात गर्ने गरेका छन् ।

यसअघि व्यवसायीले दक्षिण एसियाली स्वतन्त्र व्यापार क्षेत्र (साफ्टा) को लाभ उठाएर पाम आयल निर्यात गर्थे । अतिकम विकसित मुलुकबाट हुने वस्तुजन्य आयातमा शून्य महसुल (ट्यारिफ) को व्यवस्था विश्व व्यापार संगठनको ‘रुगिरो इनिसिएटिभ’ मा छ । साफ्टामा पनि यस्तै व्यवस्था छ ।

भारतमा खाने तेलको माग उच्च छ । नेपाली व्यवसायीले कच्चा सामग्री आयात गरी शून्य ट्यारिफ भारतमा निर्यात गर्छन् । यस्ता तेल अन्य देशबाट आयात हुँदा उच्च ट्यारिफ लाग्ने छ । आयातित कच्चा तेल प्रशोधन गरी नेपाली व्यवसायीले ३० प्रतिशतसम्म मूल्य अभिवृद्धिसहित नाफा गर्ने गरेको दाबी गर्छन् ।


Author

पवन तिमिल्सिना

तिमिल्सिना अर्थतन्त्रका विविध विषयमा रिपोर्टीङ गर्छन् ।


थप समाचार
x