श्रीलंका झन् तनावग्रस्त, हिंसातर्फ उन्मुख
काठमाडौँ- आर्थिक मन्दीको कारण श्रीलंकाको अवस्था दिनानुदिन बिग्रँदै गएको छ । गएराति सयौं मानिसले कोलोम्बोस्थित राष्ट्रपति गोटाबाया राजापाक्षेको निवासमा प्रवेश गर्ने प्रयास गरेका थिए । उनीहरूलाई नियन्त्रणमा लिन प्रहरीले गोली चलाएको थियो, जसमा १० जना घाइते भएका थिए । प्रदर्शनकारीले आर्थिक स्थिति दयनीय बनाएको भन्दै सरकारविरूद्ध हिंसात्मक प्रदर्शनमा उत्रिएपछि स्थिति तनावग्रस्त बनेको हो ।
बिहीबार राति तनावग्रस्त भएपछि कोलम्बोमा कर्फ्यू आदेश जारी गरियो, तर शुक्रबार बिहानबाट हटाइएको छ । राष्ट्रपति निवास वरपरका क्षेत्रमा आगजनीपछि गाडीको भग्नावशेष देखिएको थियो ।
अनियन्त्रित मुद्रास्फीति र अत्यावश्यक वस्तुको अभावका कारण जनजीवन कष्टकर बनेको छ । आन्दोलनकारीले राष्ट्रपतिको राजीनामा माग गर्दै आएका छन् ।अनियन्त्रित मुद्रास्फीति र अभावको सामना गर्ने श्रीलंका सरकारको दृष्टिकोणलाई लिएर विरोध प्रदर्शनहरू तीव्र बन्दै गएका छन् । स्वतन्त्रतापछि देशको सबैभन्दा खराब अवस्था भनिएको छ ।
इन्धन अभावले बस र सवारी साधन बन्द
श्रीलंकामा इन्धनको चरम अभाव भएको छ । पेट्रोल पम्पमा डिजेल नआएपछि सवारी साधनको आवतजावत ठप्प छ । देशका दुई तिहाइ सवारीसाधन निजी क्षेत्रबाट सञ्चालनमा छन् । यसका सञ्चालकहरूले आजबाट आइसोलेट बसहरू पनि नचल्ने बताएका छन् ।
१२ घण्टा बिजुली कटौती
श्रीलंकाको सरकारी विद्युत् कम्पनीले जेनेरेटरका लागि विद्युत् उपलब्ध नहुने भन्दै १२ घण्टाभन्दा बढी कटौती सुरु गरेको छ । यो देशको इतिहासमा सबैभन्दा ठूलो कटौती हो । २० वटा पावर जोनमा ४ घण्टा वैकल्पिक र कुल १२ घण्टा विद्युत कटौतीको घोषणा गरिएको छ ।
पेट्रोलभन्दा चिनी र दुध महँगो
महँगी र अत्यावश्यक वस्तुको अभावका कारण श्रीलंकामा जनजीवन कष्टकर बनेको छ । एक लिटर पेट्रोलको मूल्य २५४ रुपैयाँ छ भने दूध २६३ रुपैयाँमा बिक्री भइरहेको अन्तर्राष्ट्रिय सञ्चार माध्यमले उल्लेख गरेका छन् । त्यस्तै एक किलो चामल र चिनीको मूल्य ३ सय रूपैयाँको हाराहारीमा पुगेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया