अर्थ / बाणिज्य

नेपालसँग विदेशी ऋणकाे दायित्व कति छ ?

इकागज |
चैत २३, २०७८ बुधबार २०:१० बजे

काठमाडौँ– नेपालको कुल ऋणभार (सार्वजनिक ऋण) १७ खर्ब २८ अर्ब ९३ करोड रुपैयाँ रहेको छ । यसमध्ये बाह्य ऋण ९ खर्ब ४८ अर्ब ९८ करोड रुपैयाँ रहेको छ भने आन्तरिक ऋण ७ खर्ब ७९ अर्ब ९४ करोड रुपैयाँ छ । उल्लेखित रकम पुस २०७८ सम्मको ऋण दायित्व हो । 

नेपालको कुल सार्वजनिक ऋण कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४०.५ प्रतिशत रहेकोमा विदेशी ऋण २२.२४ प्रतिशत रहेको सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले जनाएको छ । मुलुककाे सार्वजनिक ऋण पछिल्लाे चार वर्षमा झन्डै दाेब्बरले बढेकाे हाे ।


जीडीपीको ४०.५ प्रतिशत सार्वजनिक ऋणभार पुगिसकेको छ भने यसको उपयोगिता र कार्यदक्षतामा प्रश्नहरू उठाइएका छन् । प्रधानमन्त्री शेरबहादुर देउवाले मुलुकले अत्यावश्यक बाहेक अब धेरै ऋण नलिने  र लिएको ऋणको कार्यदक्षता र कार्यकुशलतामा ध्यान दिने बताएका छन् । उनले सकेसम्म वैदेशिक अनुदान र लगानी भित्र्याउने र ऋण लिनैपर्ने अवस्थामा पनि सहुलियतपूर्ण ऋणमात्र लिनेमा जोड दिएका छन् । 

नेपालले लिएको विदेशी ऋणको एक त्रैमासमा (यस वर्ष कात्तिक–पुस)मा १ अर्ब ७९ करोड १० लाख रुपैयाँ साँवाब्याज भुक्तानीबापत् तिरेको थियो । 

विदेशी ऋणतर्फ नेपालको बहुपक्षीय दातृ निकायतर्फ बढी ऋण रहेको छ । कुल विदेशी ऋणमा विश्व बैंकको ५०.४४ प्रतिशत र एसियाली विकास बैंकको ३१.३६ प्रतिशत ऋण रहेको छ । बहुपक्षीय दातृ निकायमध्ये एसियाली विकास बैंकको २ खर्ब ९२ लाख रुपैयाँ, युरोपियन इकोनोमिक कम्युनिटीको २४ करोड ६९ लाख, युरोपेली लगानी बैंकको ४ अर्ब २ करोड रुपैयाँ, एसियाली पूर्वाधार लगानी बैंकको ३ करोड ३६ लाख, विश्व बैंक (आईडीए) को ४ खर्ब ७१ अर्ब रुपैयाँ, आइफाडको ९ अर्ब ६३ करोड रुपैयाँ, आईएमएफको ३२ अर्ब ८१ करोड रुपैयाँ,  नर्डिक डेभलपमेन्ट फन्ड (एनडीएफ)को २ अर्ब १४ करोड र ओपेक फन्डको ८ अर्ब ६ करोड रुपैयाँ ऋण रहेको छ । 
द्विपक्षीयतर्फ जापान, चीन र भारतको सबैभन्दा बढी ऋण रहेको छ ।

जापानको ४१ अर्ब १५ करोड रुपैयाँ, चीनको ३१ अर्ब ६५ करोड र भारतको ३० अर्ब ७६ करोड रुपैयाँ ऋण रहेको छ । कुल विदेशी ऋणमा जापानको ४.४१ प्रतिशत, चीनको ३.३९ प्रतिशत र भारतको ३.२९ प्रतिशत हिस्सा ऋण रहेको छ । 
 


Author

थप समाचार
x