एमालेले भन्यो, ‘गठबन्धन सरकारले अर्थतन्त्रलाई जोखिममा धकेल्यो’
काठमाडौँ– प्रमुख प्रतिपक्षी दल एमालेले पूर्वअर्थमन्त्री र राष्ट्रिय योजना आयोगका उपाध्यक्षसहित एमालेले पत्रकार सम्मेलन गर्दै गठबन्धन सरकारले मुलुकको अर्थव्यवस्था जोखिममा धकेलेको बताएको छ । ‘अर्थशास्त्री, अध्येताहरूले मुलुकको अर्थव्यवस्था जोखिम उन्मुख रहेको निष्कर्ष निकाल्नुभएको छ,’ पूर्व अर्थमन्त्री विष्णु पौडेलले भने, ‘सचेत भएर सार्थक हस्तक्षेप गर्न सकेनौं भने मुलुक श्रीलंका हुनबाट रोक्न सक्दैन ।’
उनले प्रधानमन्त्री, अर्थमन्त्रीले श्रीलंका हुँदैन भनेर दाबी गर्नुको कुनै अर्थ नरहेको बताए । अर्थतन्त्रमा परेका समस्या समाधानका लागि छिटो सम्बोधन गर्नुपर्नेछ ।
‘हामीले सरकार छाड्दा मूल्यवृद्धि चार प्रतिशत तल थियो । रेमिट्यान्स बढीरहेको थियो र विदेशी मुद्रा सञ्चिति १४ खर्ब रुपैयाँ बराबर थियो, जसले ११ महिनाको आयात धान्न पुग्थ्यो,’ पूर्वअर्थमन्त्री पौडेलले भने, ‘शुरुका वर्षमा हामीले ७ प्रतिशतको आर्थिक वृद्धिदर पनि हासिल गरेका हौं ।’
उनले अघिल्लो सरकारले दातृ निकाय र निजी तथा विदेशी लगानीकर्ताको विश्वास जितेको पनि उल्लेख गरे । पूर्वमन्त्री पौडेलले एमालेको सरकारको समयमा कर्जाको ब्याजदर पनि एकल अंकमा रहेको र लगानीका लागि स्रोत पर्याप्त भएको बताए । कोभिड–१९ महाहारीका बाबजूद पनि एमाले सरकारले अर्थतन्त्रलाई ट्रयाकमा राख्दै समष्टिगत अर्थतन्त्रका परिसूचक सबल अवस्थामा राख्दै अर्थतन्त्रलाई स्थायित्व प्रदान गरेको बताए ।
अहिलेको सरकार बन्दा कोभिड–१९ नियन्त्रणमा आउने क्रम शुरु भएको, खोपको सुनिश्चितता भैसकेको र आर्थिक गतिविधि चलायमान हुने अवस्थामा रहेको भन्दै पूर्वअर्थमन्त्री पौडेलले ओली सरकारले ल्याएको बजेटलाई राजनीतिक आग्रहका कारण प्रतिस्थापन गरिएको बताए ।
पूर्व अर्थमन्त्री पाैडेलले राष्ट्र बैंकलाई मन्त्रालयकाे महाशाखा जस्ताे गर्ने,माैद्रिक नीति ल्याउन समेत गभर्नरलाई हस्तक्षेप गरेर राेक्ने बद्नियतपूर्ण काम भएको बताए ।
गभर्नर हटाउने वर्तमान सरकारको काम लज्जास्पद, घृणित काम गरेको बताए । आफ्ना अवाञ्छित स्वार्थ पूरा गर्न राष्ट्र बैंकको गभर्नर निलम्बन गरेको उनको भनाई थियो ।
उनले निर्णय सच्याउन सरकारलाई आग्रह गरे । ‘यो व्यक्ति महाप्रसाद अधिकारीको हस्तक्षेप होइन, प्रणाली भत्काउन गरिएको हस्तक्षेप हो । यसले मुलुकको अर्थव्यवस्थालाई थप संकटमा धकेल्नेछ ।’ उनले भने ।
चालु खाता घाटा जोखिमको अवस्थामा रहेको र विदेशी विनिमय सञ्चिति घट्दै जाँदा भोलि आयात गर्न नै कठिन हुने अवस्था आएको उनको भनाई थियो । उनले अहिले पुँजीगत खर्च निराशाजनक रहेको र असार मसान्तसम्म ५० प्रतिशत पुँजीगत खर्च हुनेमा पनि आशंका गरे । बैंक तथा वित्तीय संस्थामा तरलताको अभाव रहेको, मूल्यवृद्धि र व्यापार घाटाले छलाङ लगाएको उनको भनाई थियो । त्यस्तै, एमालेले वर्तमान सरकारले कर्मचारीलाई पदस्थापन गर्दा पनि व्यवसायिक दक्षताभन्दा पनि आस्थाका आधारमा सरुवा र पदस्थापन गर्ने गरेको बताए । आर्थिक क्षेत्रका संस्थाहरूबीच समन्वय नभएको उनले बताए ।
पत्रकार सम्मेलनमा पूर्व अर्थमन्त्रीहरू विष्णु पौडेल, सुरेन्द्र पाण्डे, युवराज खतिवडा र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. दिनेशचन्द्र देवकोटा, पुष्प कँडेल सहभागी छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया