रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीको निर्देशन
काठमाडौं– रेमिट्यान्स र पर्यटन वृद्धिका लागि पहल गर्न विदेशस्थित नियोग प्रमुखलाई अर्थमन्त्रीले निर्देशन दिएका छन् ।
अर्थमन्त्री जनार्दन शर्माले विदेशमा रहेका नागरिकबाट जतिसक्दो धेरै रेमिट्यान्स भित्र्याउन विदेशस्थित नियोग प्रमुखलाई निर्देशन दिएका हुन् । यसका साथै उनले नेपाल घुम्न जानुपर्ने विषयमा प्रवर्द्धनात्मक कार्यक्रम गरी विदेशी पर्यटकको संख्या बढाउनका लागि पहलकदमी लिनुपर्ने बताएका छन् ।
दुई दर्जन भन्दा बढी राजदूत, कार्यबाहक राजदूत, महाबाणिज्यदुतलगायत विभिन्न देशका नियोग प्रमुखहरु उक्त कार्यक्रममा उपस्थित थिए ।
आइतबार दिउँसो भर्चुअल बैठक गर्दै अर्थमन्त्री शर्माले विदेशी मुद्रा बढाउनुपर्ने र भुक्तानी सन्तुलन सकारात्मक बनाउनु पर्ने दबाबमा सरकार रहेको बताएका थिए । उनले सबै पक्ष मिलेर काम गर्नुपर्ने समेत बताए ।
‘हामीलाई यतिबेला विदेशी मुद्राको संचिति बढाउनुपर्ने दबाब छ । यसका लागि तपाईहरूले विशेष भूमिका खेल्नुपर्छ’ उनले भने, ‘रेमिट्यान्सका माध्यमबाट पैसा पठाउन त्यहाँका नागरिकलाई प्रोत्साहन गर्नुस् । नेपाल कोभिड १९ बाट तंग्रिसकेको सन्देश दिदै पर्यटन प्रवर्द्धनका विभिन्न कार्यक्रम गरी धेरै भन्दा धेरैे पर्यटक नेपाल आउने वातावरण सृजना गर्नुस् ।’
चैत महिनामा ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको जानकारी दिदैं यतिमा मात्रै सन्तुष्ट नभई अझै वृद्धि गर्न सकिने खाँचो रहेको उनले बताए ।
‘रेमिट्यान्स बढाउनका लागि विभिन्न प्याकेज ल्याउन लागेका छौं । रेमिट गर्नेहरूलाई आइपिओ र एफपिओमा निश्चित प्रतिशत नै छुट्याएर लगानी गर्न दिनेसम्मका गृहकार्य भएका छन्’ उनले भने ।
आगामी आबको बजेट निर्माणका लागि सुझाव लिन नियोग प्रमुखहरूसँग छलफल भएको थियो । सो छलफल परराष्ट्र मन्त्रालयमा गरिएको थियो ।
त्यसक्रममा अर्थमन्त्री शर्माले लगानी सम्मेलनहरू आयोजना गरी नेपालमा विदेशी लगानी बढाउने वातावरण सृजना गर्नुपर्ने पनि बताए ।
‘हामीले अलि ठूला परियोजना बनाउँदा मात्रै ऋण लिने र यस्तो ऋण सम्बन्धित परियोजनाले नै तिर्नसक्ने किसिमले लिने गरी मोडालिटी बनाउँदैछौँ’ उनले भने, ‘गैरआवासीय नेपालीलाई पनि डलरमा खाता खोल्न धेरै सहज बनाइसकेका छौं ।’
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया