अर्थ / बाणिज्य

कस्तो छ हाम्रो अर्थतन्त्र ?

रेमिट्यान्स र विदेशी लगानीले बढायो आत्मविश्वास, आयातको बढ्दाे वेग पनि थामिदैँ

इकागज |
चैत २९, २०७८ मंगलबार १५:५७ बजे

काठमाडौँ– सरकारले अर्थतन्त्र सुधारका लागि गरेका प्रयासले केही सकारात्मक गति लिएको छ । भुक्तानी असन्तुलनका कारण बाह्य क्षेत्र स्थायित्वमा दबाब खेपिरहेको अवस्थामा रेमिट्यान्स र प्रत्यक्ष वैदेशिक लगानीमा सुधार आएको छ । माघसम्म शोधनान्तर घाटा २ खर्ब ४७ अर्ब रुपैयाँ रहेकोमा फागुन मसान्तमा २ खर्ब ५८ अर्ब रुपैयाँ छ । 

चालु आर्थिक वर्षको ८ महिनामा कुल ६ खर्ब ३२ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ । फागुन महिनामा मात्र ९१ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको छ, जबकी यो वर्ष माघसम्म मासिक औसत ७७ अर्ब रुपैयाँ रेमिट्यान्स भित्रिएको थियो । त्यस्तै प्रत्यक्ष वैदेशिक लगानी अघिल्लो वर्षको फागुनसम्मको तुलनामा ६० प्रतिशतले बढेर १६ अर्ब ३० करोड रुपैयाँ लगानी भित्रिएको छ । 


त्यस्तै, फागुन मसान्तसम्म विदेशी लगानीको प्रतिवद्धतातर्फ उद्योग विभागमार्फत् ३३ अर्ब ३८ करोड रुपैयाँ र लगानी बोर्डमार्फत् ८२ अर्ब ४७ करोड रुपैयाँको प्रतिबद्धता आएको छ । 

कुल विदेशी मुद्राको सञ्चिति ९ अर्ब ५८ करोड अमेरिकी डलर छ । यो सञ्चितिले अहिलेको आयातको प्रवृत्ति अनुसार ६.७ महिनाको वस्तु र सेवाको आयात धान्न पुग्छ । माघ महिनासम्म विदेशी मुद्राको सञ्चिति ९.७५ अर्ब अमेरिकी डलर रहेको थियो । 

सरकारले आयातमा गरेको कडाइँका आयातको वृद्धिदर यसअघिभन्दा कम भएको छ । माघसम्म झन्डै ४३ प्रतिशत रहेको आयातको वृद्धिदर फागुन मसान्तमा ३८.६ प्रतिशतमा झरेको छ । कुल १३ खर्ब ८ करोड रुपैयाँको आयात भएको छ भने एक खर्ब ४७ अर्ब रुपैयाँको निर्यात भएको छ । 

मूल्यमा आधारित पेट्रोलियम आयात ९१.२ प्रतिशतले बढेको छ । निर्यातमा पनि मुलुकमै उत्पादन आधार र मूल्य श्रृंखला भएका वस्तुभन्दा पनि सोयाविन र पाम आयलको आयात गरी त्यसमा निश्चित गुणवत्ता अभिवृद्धि (भ्यालु एडिसन) गरेर निर्यात भैरहेको देखिन्छ । 

खाद्य र गैर खाद्य दुवै समूहमा मुद्रास्फिति उल्लेख्य बढेको छ । फागुन महिनामा उपभोक्ता मुद्रास्फिति ७.१४ प्रतिशत पुगेको छ, यो वर्षको औसत मुद्रास्फिति ५.४१ प्रतिशत छ । सरकारले मुद्रास्फिति यस आर्थिक वर्षमा ६.५ प्रतिशतमा सीमित गर्ने लक्ष्य राखेको छ । 

त्यस्तै, बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप बढेको छ । कर्जा असुली पनि वृद्धि भएको छ । माघसम्म वाणिज्य बैंकको निषेप ४२ खर्ब ९७ अर्ब रुपैयाँ रहेकोमा फागुन मसान्तमा ४३ खर्ब १७ अर्ब, विकास बैंकको ४ खर्ब ६१ अर्ब रहेकोमा फागुन मसान्तमा ४ खर्ब ६२ अर्ब रुपैयाँ र वित्त कम्पनीतर्फ ९२ अर्ब ६७ करोड रहेकोमा ९४ अर्ब २५ करोड रुपैयाँ पुगेको छ । कर्जाको वृद्धि भने सीमान्त छ, माघ मसान्तसम्म कुल ४६ खर्ब ७९ अर्ब रुपैयाँ कर्जा प्रवाह भएकोमा फागुन मसान्तसम्म कुल कर्जा लगानी ४७ खर्ब रुपैयाँ रहेको छ । 

हेर्नुहोस् माघसम्मको अर्थतन्त्रको अवस्था 

 


Author

थप समाचार
x