अर्थ / बाणिज्य

साना तथा मझौला व्यवसायलाई स्तरोन्नति गर्न पूर्वअर्थमन्त्रीहरूको सुझाव

आगामी बजेटले नीतिगत फड्को लिनुपर्नेमा जोड

इकागज |
बैशाख १५, २०७९ बिहीबार १८:५९ बजे

काठमाडौंँ-  पूर्व अर्थमन्त्रीहरूले आगामी आर्थिक वर्षको बजेटमा केन्द्रित भएर छलफल गरेका छन् ।  आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटमा केन्द्रित भइ पूर्व अर्थमन्त्री फोरमको बैठक सम्पन्न भएको हो ।

बैठकमा दिगो आर्थिक विकासका लक्ष्यहरुको प्राप्ति, दिगो लगानी प्रवर्धन, नीतिगत सुधार, कृषि क्षेत्रको सुधार तथा प्रवर्धन, शिक्षा, पर्यटन, निर्यात प्रवर्धन, पूँजीगत खर्च वृद्धिलगायतका महत्वपूर्ण विषयहरुमा आगामी बजेटमार्फत कसरी सम्बोधन गर्ने-गराउने भन्ने विषयहरुमा व्यापक छलफल तथा अन्तरक्रिया भएको थियो ।


देशको वर्तमान आर्थिक अवस्था चुनौतिपूर्ण बन्दै गइरहेको सन्दर्भमा नीतिगत तथा क्षेत्रगत सुधारमा फड्को मार्नुपर्नेमा सहभागीहरुको एकमत रहेको थियो ।
आगामी बजेटको आकार बढाउँदा विचार गर्नुपर्ने, मुलुकको खर्च व्यवस्थापनमा सन्तुलन कायम गर्नुपर्ने, सामाजिक सुरक्षामा खर्च बढ्दै गइरहेकोे राष्ट्रिय सहमतिका आधारमा व्यवस्थापन गर्दै जानुपर्ने, उत्पादकत्व वृद्धिमा जोड दिँदै निर्यात प्रवर्धन गर्नुपर्ने, प्रोत्साहनसहित विप्रेषण लाई बैंकिङ च्यानलबाट व्यवस्थित तथा बढुवा दिने गरी आकर्षित गराइनुपर्ने निर्देशित लगानीका विषयमा पुनर्विचार गर्ने जस्ता महत्वपुर्ण विषयहरुमा बैंठकमा सहभागी विज्ञहरुले सुझाव प्रस्तुत गरेका थिए।

त्यसैगरी कृषि तथा वन क्षेत्रको विकासका लागि जैविक विविधता (बायो डाइभर्सिटी) लाई ध्यान दिइ प्रवर्धन गरिनुपर्ने विषयमा बैंठकमा छलफल भएको थियो ।
स्थानीय सरकारलाई बलियो बनाइ स्थानीय घरेलु, साना तथा मझौला व्यवसायलाई स्तरोन्नति गर्दै आवश्यक पूर्वाधारहरुको निर्माण, (कस्टम हायरिङ सेन्टर, कोल्ड स्टोरेज, एग्रो प्रोसेसिङ जोन, भण्डारण, बजार व्यवस्थापन) रोजगारी तथा उत्पादन वृद्धिमा बैंठकमा विशेष जोड दिइएको थियो । 

आगामी बजेटले नीतिगत सुधारमा फड्को मार्न सक्यो भने मात्र वर्तमान अवस्थामा देखिएको कमजोर आर्थिक अवस्थालाई सुधार गर्न सकिने बैठकको निष्कर्ष रहेको र फोरमको बैंठकमा प्राप्त भएका रायसुझावहरुलाई लिपिबद्ध गरी अर्थमन्त्रीसँग प्रत्यक्ष भेटघाट गरी बुझाइने फोरमका सदस्य सचिव बिमल केडियाले बताए ।   बैशाख १४ गते सम्पन्न फोरमको उक्त बैंठकमा पूर्व अर्थमन्त्रीहरू सुरेन्द्र पाण्डे,  डा. रामशरण महत, वर्षमान पुन, डा. युवराज खतिवडासहित फोरमका सदस्य–सचिव विमल केडिया, पूर्व अर्थसचिव  रामेश्वर खनाल, पूर्व सचिव शंकर अधिकारी, बैंक तथा वित्तीय संस्था परिसंघ नेपाल (सिबिफिन)का अध्यक्ष पवनकुमार गोल्यान र वरिष्ठ उपाध्यक्ष एवं प्रवक्ता श्री भोजबहादुर शाहलगायतका उपस्थिति रहेको थियो ।


Author

थप समाचार
x