अर्थ / बाणिज्य

यसरी आउँदैछ चैत १५ देखि मेलम्चीको पानी काठमाडौंमा (नक्शासहित)

इकागज |
चैत १२, २०७७ बिहीबार १६:१९ बजे

काठमाडौँ : राष्ट्रपति विद्यादेवी भण्डारीले विधिवत् उद्घाटन गर्नुअघि नै आगामी आइतबार (चैत १५) देखि मेलम्चीको खानेपानी राजधानीवासीमा वितरण गरिने भएको छ । राष्ट्रपति भण्डारीले आगामी चैत २० गते शुक्रबार भृकुटीमण्डपमा जडान गरिएकाे नयाँ धाराकाे टुटी खाेलेर मेलम्चीकाे पानी उद्घाटन गर्ने कार्यक्रम छ ।

आइतबार काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) को खुमलटार, मीनभवन, महांकाल र अनामनगरस्थित ओभर हेड ट्यांकीमा ४ करोड लिटर पानी भरेर वितरण सुरु गरिने मेलम्ची उपआयोजना अन्तर्गत आयोजना निर्देशनालयका प्रमुख कमलराज श्रेष्ठले बताए । 


मेलम्ची खानेपानी विकास समितिले भोलि शुक्रबार चार बजेदेखि नै थोक वितरण प्रणाली (बीडीएस) लाई पानी छाड्न थाल्ने उनले बताए । बीडीएसले एकैचोटि १७ करोड लिटरको भार थाम्न नसक्ने हुनाले छाडिने पानीको परिमाण क्रमशः बढाउँदै लगिनेछ । ‘सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्र र वितरण प्रणालीबीच तादात्म्यता (सिंक्रोनाइजेशन) गर्नुपर्ने भएकाले अलिअलि गर्दै पानी छाडिनेछ,’ श्रेष्ठले बिहीबार इकागजसँग भने, ‘पानीको प्रवाह कतिसम्म गर्न सकिन्छ, त्यो हेर्नैपर्ने हुन्छ ।’

निर्देशनालयले चैत १५ मा चार करोड लिटर पानी छाडेको दुई दिनपछि सुन्दरीजल र बालाजु बीडीएसमा पानी छाड्ने तयारी गरेको छ । त्यस दिन सुन्दरीजलस्थित पानी प्रशोधन केन्द्रबाट दैनिक साढे ६ करोड लिटर पानी छाडिनेछ । श्रेष्ठका अनुसार चैत २१ गते पानी पोखरी र बाँसबारीस्थित ओभरहेड ट्यांकीमा दैनिक साढे आठ करोड लिटर पानी छाडेर उक्त प्रणालीबाट वितरण हुने क्षेत्रका उपभोक्ताको घरमा पानी आपूर्ति हुनेछ । 

साढे आठ करोड लिटर पानीको परीक्षण र आपूर्ति गरेको दुई सातापछि मात्रै भक्तपुरमा मेलम्चीको पानी जानेछ ।निर्देशनालयले ३० हजार नयाँ धारा जडान गरेको छ । अन्य ठाउँमा केयूकेएलको पुरानो पाइपमार्फत परीक्षण गर्दै पानी आपूर्ति गरिने श्रेष्ठले बताए । ‘मेलम्चीको पानी आइसकेपछि नै पुरानो (केयूकेएलको पाइप) र नयाँ पाइपको परीक्षण हुनेछ,’ उनले भने ।

काठमाडौं उपत्यकामा मेलम्चीको पानी वितरण गर्न थालेको दुई सातापछि मात्रै दैनिक १७ करोड लिटर वितरण प्रणालीमा छाडिने तयारी छ । हाल उपत्यकामा दैनिक ४३ करोड लिटर पानीको माग भए पनि मेलम्ची चालू भएपछि आधाभन्दा बढी माग सम्बोधन हुनेछ । 


Author

थप समाचार
x