अर्थ / बाणिज्य

पर्यटन बोर्डका पूर्वसीईओ जोशी बने सीएनआईको महानिर्देशक

इकागज |
बैशाख १९, २०७९ सोमबार १५:४१ बजे

काठमाडौँ– नेपाल उद्योग परिसंघको महानिर्देशकमा दीपकराज जोशी नियुक्त भएका छन् । परिसंघ पदाधिकारी समितिको २७ औँ बैठकको निर्णयअनुसार जोशीलाई महानिर्देशक नियुक्त गरिएको बताइएको छ । 

परिसंघका अध्यक्ष विष्णुकुमार अग्रवालले नवनियुक्त महानिर्देशक जोशीको स्वागत गर्दै परिसंघले औद्योगिक वातावरण निर्माणमा सक्रियतापूर्वक काम गरिरहेको र नवनियुक्त महानिर्देशकबाट परिसंघको उद्देश्य हासिल हुने गरी कार्यसम्पादन हुने बताए । 


नवनियुक्त महानिर्देशक जोशीले परिसंघले अघि बढाइरहेका अभियानहरूलाई भविष्यमा थप प्रभावकारी बनाउने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले परिसंघमा आवद्ध सम्पूर्ण सदस्यहरूमा पर्ने समस्या समाधानका लागि सहजीकरण गर्नेतर्फ ध्यान दिने बताए । 

नेपाल पर्यटन बोर्डका पूर्व प्रमुख कार्यकारी अधिकृत जोशी विगत २२ वर्षदेखि विभिन्न जिम्मेवारीमा सक्रिय छन्। उनले प्यासिफिक एसिया ट्राभल एसोसिएसनमा डेस्टिनेसन कमिटीको अध्यक्षको रूपमा काम गरेका छन् । 

अन्तर्राष्ट्रियरूपमा  'च्यान्पिएन्स इन च्यालेन्ज' र 'पर्यटन हिरो' जस्ता सम्मानबाट सम्मानित भएका जोशीबाट परिसंघका उद्देश्यअनुरूपका कार्य सम्पादन हुने परिसंघले उल्लेख गरेको छ । 

वाणिज्यशास्त्रमा स्नातोक्ततर जोशी पर्यटन तथा अन्य आर्थिक क्षेत्रसँग सम्बन्धित अध्ययन अनुसन्धानमा पनि संलग्न छन् । यसअघि परिसंघमा यादवप्रसाद पौड्याल  महानिर्देशक थिए । 


Author

थप समाचार
x