नखाएको विष लाग्दैन : फुटबलर अन्जन विष्ट
मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको विवादका कारण नेपाली फुटबल टिमको बन्द प्रशिक्षणबाट बाहिर रहेका नेपाली राष्ट्रिय फुटबल टोलीका स्ट्राइकर अन्जन विष्टले छिट्टै टिममा फर्किने आशा व्यक्त गरेका छन् ।
सोमबारदेखि २४औँ वर्षमा प्रवेश गरेका अन्जनले सामाजिक सञ्जाल फेसबुकमार्फत जन्मदिनको सुभकामना दिने सम्पूर्णमा धन्यवाद दिँदै उनले राष्ट्रिय टोलीको विवाद चाडै समाधान हुनेमा आफू आशावादी रहेको बताए ।
अन्जनले नखाएको विष नलाग्ने भन्दै छिट्टै राष्ट्रिय टिमको जर्सीमा फर्किएर समर्थकहरूमा खुसी दिने मन भएको लेखेका छन् ।
‘मेरो जन्मदिनको अवसरमा शुभकामना व्यक्त गर्नुहुने सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा मलाई सदैव साथ दिनुहुने मेरा प्यारा फ्यानहरूमा हृदयदेखिनै हार्दिक कृतज्ञता प्रकट गर्न चाहान्छु । सायद यो जन्मदिन अरु वर्षभन्दा अलिक फरक रह्यो, आसा छ छिट्टै सबै कुरा ठिक हुनेछ । नखाएको विष लाग्दैन भन्ने लाग्छ, गल्ती नगरी कसैले पनि सजाय भोग्न नपरोस् । छिटै राष्ट्रिय टिमको जर्सी लगाई सम्पूर्ण नेपालीलाई खुसी दिन मन छ । सदैव यहाँहरुको साथ सहयोग र मायाको आस गर्दै पुनः सबैमा हार्दिक धन्यवाद,’ उनले लेखेका छन् ।
एसियन कपको तयारीका लागि बन्द प्रशिक्षणमा रहेको नेपाली टोलीका १० खेलाडीलाई मुख्य प्रशिक्षक अल्मुताइरीले होटल छोड्न निर्देशन दिएको भन्दै अन्जनसँगै अन्य ९ खेलाडीले प्रशिक्षण छोडेका थिए । विवादबारे खेलाडी तथा प्रशिक्षक अल्मुताइरी दुवैले एन्फालाई पत्र पठाएका थिए ।
खेलाडीले घटनाको जानकारी गराउँदै स्पष्ट छानबिनको माग राखेका थिए भने प्रशिक्षकले खेलाडीहरूलाई माफी दिएको बताएका थिए । यद्यपि, प्रशिक्षकले माफी दिए पनि खेलाडीहरूलाई आसन्न एएफसी एसियन कप छनोटको तेस्रो चरणका लागि भने टिममा समावेश नगराउने बताइसकेका छन् । विवाद छानविनका लागि एन्फाले तीन सदस्य छानविन कार्यदल बनाएको छ ।
नेपालले जेठ अन्तिम साता एएफसी एसियन कप छनोटमा जोर्डन, कुवेत र इन्डोनेसियासँग खेल खेल्नेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया