फुटबल

एनआरटी क्लबले ‘प्रि सिजन’ खेलका लागि मलेसिया भ्रमण गर्ने

इकागज |
जेठ २०, २०७९ शुक्रबार १९:४२ बजे

काठमाडाैँ- न्युरोड टिम (एनआरटी) क्लबले सहीद स्मारक ‘ए’ डिभिजन लिगको अर्को तयारी स्वरुप ‘प्रि सिजन’ खेलका लागि मलेसिया भ्रमण गर्ने भएको छ । एनआरटीले मलेसियाको पेनाङमा हुने टुवान याङ टेरुतमा (टीवाईटी) कप फुटबल प्रतियोगिता खेल्न लागेको हो ।

उक्त प्रतियोगिता पेनाङका शहर प्रमुख मिस्टर याङले पद बहाली ग्रहण गरेको पहिलो वार्षिकोत्सवको अवसरमा आयोजना हुन लागेको हो । २८ जुनदेखि २ जुलाईसम्म हुने प्रतियोगितामा एनआरटीसहित मलेसियाको सुपर लिग क्लब पेनाङ एफसी र बंगलादेश प्रिमियर लिगको क्लब मुक्तिजोधा सङसद केसीले प्रतिस्पर्धा गर्नेछन् ।


२० हजार दर्शक क्षमता भएको पेनाङ सिटी रंगशालामा हुने प्रतियोगिताको विजेताले १० हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । उपविजेता टोलीले ५ हजार मलेसियन रिङगेट पुरस्कार जित्नेछ । एनआरटीले उक्त प्रतियोगिताको तयारीका लागि केही दिनमै प्रशिक्षण सुरु गर्नेछ ।

साथै क्लबले खेलाडी अनुबन्ध प्रक्रियासमेत सुरु गरिसकेको छ । एनआरटीले मलेसिया जानुअघि नेपालमै केही अभ्यास खेल पनि खेल्नेछ । क्लबले दक्षिण पूर्वी एसियाको अन्य क्लबहरुसँग मैत्रीपूर्ण खेल खेल्नका लागि पनि पत्राचार गरिसकेको क्लबका महासचिव नरेन्द्रमान श्रेष्ठ जनाए ।


Author

थप समाचार
x