फुटबल

एसियन कप छनोटमा नेपालले कुनै दबाबविना खेल्छः अलमुताइरी

इकागज |
जेठ २४, २०७९ मंगलबार १६:२४ बजे

काठमाडौँ – नेपाली राष्ट्रिय फुटबल टिमका मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताइरीले एएफसी एसियन कपको तेस्रो चरणको छनोटमा नेपालका लागि जोर्डनविरुद्धको खेल महत्वपूर्ण हुने बताएका छन् । छनोटअन्तर्गत समूह ‘ए’ मा रहेको नेपालले पहिलो खेल बुधबार जोर्डनको सामना गर्दैछ । यस समूहमा कुवेतसँगै नेपाल, जोर्डन र इन्डोनेसिया रहेका छन् ।

‘जोर्डनविरुद्धको खेल नेपालका लागि महत्वपूर्ण हुने छ । भोलिको खेलमा उत्कृष्ट नतिजा ल्याउने प्रयास हुनेछ । जोर्डनको खेल हामीले हेरेका छौँ र उनीहरूलाई रोक्ने प्रयास गर्नेछौ,’ अलमुताइरीले भने ।


उनले छनोटमा नेपाललाई दबाब नरहेको समेत उल्लेख गरे । ‘नेपाललाई कुनै दबाब छैन । हामीलाई दबाबविना खेल्न सजिलो हुनेछ । तर हामी केही गर्न चाहन्छौ,’ अलमुताइरीले थपे ।  

प्रशिक्षक अलमुताइरीले जोर्डनसँगको खेलपछि मात्र कुवेत र इन्डोनेसियाका बारेमा सोच्ने समेत बताए ।

नेपालले दोस्रो खेल घरेलु टोली कुवेतविरुद्ध जुन ११ तथा अन्तिम खेल इन्डोनेसियाविरुद्ध जुन १४ मा खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x