फुटबल

मकवानपुर गोल्डकपः आजबाट सेमिफाइनलका खेल हुने

इकागज |
जेठ २७, २०७९ शुक्रबार ९:२५ बजे

फाइल फोटो

मकवानपुर - मकवानपुरको हेटौंडामा जारी चौथो स्थानीय तह शहीद स्मृति अन्तर्राष्ट्रिय मकवानपुर गोल्डकप प्रतियोगितामा आज शुक्रबारबाट सेमिफाइनलको खेल हुने भएको छ ।

हेटौंडा -५ को पिप्ले रंगशालामा शुक्रबार फाइनल प्रवेशको लगि पहिलो खेल अपरान्ह ४ बजे घरेलु टोली विजय युथ क्लब र नेपाल पुलिस क्लबबीच प्रतिस्पर्धा हुँदै छ । विजेता टोलीले जेठ ३० गते हुने फाइनल खेलमा प्रवेश पाउनेछ । विहीबार बिहान भएको खेलमा नवजनजागृती युवा क्लब सिमरालाई ३-० गोल अन्तरले पराजित गर्दै घरेलु टोली विजय युथ सेमिफाइनलमा प्रवेश गरेको थियो ।


यसैगरि,दोस्रो सेमिफाइनल खेल शनिबार जेठ २८ गते अन्तर्राष्ट्रिय क्लब एनिनियर एफसी क्यामरुन र त्रिभुवन आर्मी क्लबबीच हुनेछ । बिहीबार पिप्ले रंगशालामा भएको दोस्रो खेलमा चर्चव्वाईज क्लब काठमाडौँलाई ४-० गोल अन्तरले पराजित गर्दै क्यामरुन सेमिफाइनलमा प्रवेश गरेको हो ।

३० जेठसम्म सञ्चालन हुने प्रतियोगितामा विभागीय क्लबहरू नेपाल आर्मी क्लब, नेपाल पुलिस क्लब, सशस्त्र प्रहरीको एपीएफ क्लब, मनाङ मर्स्याङ्दी क्लब, फ्रेन्ड्स, खुमलटार युथ क्लब, सिमरा, सर्लाहीको बागमती युवा क्लब, विजय युथ क्लब हेटौंडा, चितवन–११, चर्च ब्वाइज क्लब र क्यामरुनको एभिनियर एफसी सहभागी रहेको म्याच कमिस्नर छवि सुवेदीले बताए ।

मोफसलको यो सबैभन्दा ठुलो धनराशिको यो प्रतियोगिताको विजेताले १५ लाख र उप विजेताले १० लाख रुपैया सहित ट्रफी प्राप्त गर्नेछन् । अघिल्लो बर्षको भन्दा यस बर्ष पुरस्कार राशि वृद्धि गरिएको छ । अघिल्लो बर्ष विजेताले १० र उप विजेताले ५ लाख रुपैयाँ प्राप्त गरेका थिए । प्रतियोगिताको लागि करिब १ करोड १७ लाख रुपैयाँ खर्च हुने अनुमान गरिएको आयोजकले बताएको छ । अघिल्लो संस्करणमा नेपाल आर्मी च्याम्पियन हुँदा घरेलु टिम उपविजेता बनेको थियो ।

प्रतियोगिताको उत्कृष्ट गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, सर्वाधिक गोलकर्ता तथा उत्कृष्ट प्रशिक्षकलाई जनही २५ हजार रुपैयाँ तथा प्रत्येक खेलको म्यान अफ द म्याचलाई नगद १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिनेछ । प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई बुलेट मोटरसाइकल प्रदान गरिने प्रतियोगिता संयोजक प्रताप विष्टले जानकारी दिए ।


Author

थप समाचार
x