फुटबल

आफ्नो उद्देश्य पूरा गर्ने सही ठाउँमा आइपुगेको छुः अर्लिङ हालान्ड

इकागज |
जेठ ३०, २०७९ सोमबार १६:२५ बजे

काठमाडौँ – इंग्लिस फुटबल क्लब म्यानचेस्टर सिटीसँगको सम्झौता टुंग्याएपछि आफ्नो उदेश्य पुरा गर्ने सही ठाउँमा आइपुगेको अर्लिङ हालान्डले बताएका छन् ।जर्मन क्लब बोरुसिया डर्टमन्ड छाडेर ५१.२ मिलियन पाउण्डमा सिटीसँग पाँच वर्षे सम्झौता गरेपछि हालान्डले आफू सही ठाउँमा आइपुगेको प्रतिक्रिया दिएको बीबीसीले जनाएको छ । 

उनी जुलाई १ देखि सिटीसँग आवद्ध हुनेछन् । सिटीले खेलाडी रिलिजको प्रावधान स्वीकार गरेपछि सम्झौता पूरा भएको हो ।


२१ वर्षीय नर्वेजियन फरवार्ड हालान्डले डर्टमन्डका लागि ८९ खेलमा ८६ गोल गरेका थिए । ‘मेरो लागि तथा मेरो परिवारको लागि यो एउटा गर्वको दिन हो,’ सिटीका पूर्व कप्तान आल्फ-इङगका छोरा हालान्डले प्रतिक्रिया दिए । आल्फ-इङगले सिटीका लागि सन् २००० देखि २००३ सम्म सिटीका लागि खेलेका थिए । 

उनले सिटीमा विश्वकै उत्कृष्ट खेलाडीहरु रहेको तथा यसका प्रशिक्षक पेप गार्डिओला एक उत्कृष्ट प्रशिक्षक भएको बताउदै हालान्डले आफ्ना उदेश्य पुरा गर्नका लागि सही ठाउँमा आइपुगेको बताए । 

मोल्डे, रेडबुल साल्डबर्ग र डर्टमन्डका लागि हालान्डले १ सय २१ खेलमा ९२ गोल गरेका छन् । गत वर्ष उनी च्याम्पियन्स लिगमा २० गोल पुरा गर्ने सबैभन्दा कम उमेरका खेलाडी बनेका थिए । 

आइतबार नै नर्वेका लागि २१ खेलमा २० गोल पुरा गरेका थिए । 
 


Author

थप समाचार
x