ब्लाटर र प्लाटिनीलाई भ्रष्टाचार आरोपबाट सफाइ
बेलिनजोना- फिफाका पूर्व अध्यक्ष सेप ब्लाटर र युईएफएका पूर्व अध्यक्ष मिचेल प्लाटिनी दुबैले भ्रष्टाचार आरोपबाट सफाइ पाएका छन् । स्विजरल्यान्डको अदालतले ब्लाटर र प्लाटिनीलाई शुक्रबार भ्रष्टाचार आरोपबाट सफाइ दिएको हो ।
बेलिनजोनाको संघीय फौजदारी अदालतले १७ वर्षसम्म फिफाको नेतृत्वमा रहेका स्विस नागरिक ब्लाटर र फ्रान्स राष्ट्रिय टोलीका पूर्व कप्तान तथा व्यवस्थापक प्लाटिनीलाई ठगीको आरोपबाट सफाइ दिएको रोयटर्सले जनाएको छ ।
एक समय विश्व फुटबलमा सबैभन्दा शक्तिशाली व्यक्तिको रूपमा रहेका ब्लाटर र प्लाटिनीले भष्टाचारको आरोप अस्वीकार गर्दै आएका थिए ।
अभियोजनकर्ताले ब्लाटरले सन् २०११ मा र प्लाटिनीलाई फिफाले दुई मिलियन स्विस फ्र्यांक तिर्नुपर्ने गैरकानुनी रूपमा व्यवस्था गरेको आरोप लगाइएको थियो ।
८६ वर्षीय ब्लाटरले सन् १९९८ मा प्लाटिनीलाई आफ्नो प्राविधिक सल्लाहकार बन्न आग्रह गर्दा दुई मिलियन स्विस फ्र्यांकको भुक्तानका लागि दुईबीच भएको ‘जेन्टलमेन सम्झौता’ पछ्याइएको उनीहरूले बताएका थिए ।
सन् १९९८ देखि २००० सम्म प्राविधिक सल्लाहकार बन्दा प्लाटिनीले फिफाबाट वार्षिक रूपमा ३ लाख स्विस फ्र्यांक प्राप्त गर्ने गरेका थिए । तर, प्लाटिनीलाई एक मिलियन डलर वार्षिक रूपमा पछि तिर्ने समझौता भएको ब्लाटरले अदालतमा बताएका थिए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया