एनएसएलको सम्झौता रद्ध गर्ने निर्णय
काठमाडौँ – फ्रेन्चाईज फुटबल नेपाल सुपर लिग (एनएसएल) का लागि अखिल नेपाल फुटबल संघ (एन्फा) र आयोजक नेपाल स्पोर्टस एण्ड इभेन्ट म्यानेजमेन्टबीच भएको सम्झौता रद्ध हुने भएको छ ।
शुक्रबार एन्फा तथा एनएसएललाई लिएर असन्तुष्ट बनेका चार ‘ए’ डिभिजन क्लबका पदाधिकारीबीच भएको बैठकका क्रममा एनएसएलका लागि भएका सम्झौता रद्ध गर्ने निर्णय भएको हो ।
सम्झौतापत्रको धेरै बुँदामा धेरै त्रृटिहरु भएका कारण सम्झौतापत्र रद्ध गर्ने निर्णय भएको बैठकमा सहभागी भएका थ्रीस्टार क्लबका महासचिव सञ्जिब सिल्पकारले बताए ।
बैठकमा विभिन्न बुँदाहरु, जस्तै सम्झौतापत्रको पहिलो बुँदामा सातवटा प्रदेशको सातवटा टिम रहने, अर्को बुँदामा एएफसी र फिफासँगको आवद्धताको बारेमा उल्लेख भएका विषयमा छलफल भएको सिल्पकारले बताए ।
‘सम्झौतापत्रमा कुनै मिति नलेखिएको तथा सम्झौतापत्र चार वर्षका लागि बनाइएको छ । त्यसैले सम्झौता नै रद्ध गर्ने निर्णय भएको हो,’ उनले थपे ।
बैठकमा एन्फाको तर्फबाट वरिष्ठ उपाध्यक्ष विर बहादुर खड्का, महासचिव किरण राई, उपाध्यक्ष तथा महिला सदस्यको उपस्थिति रहेको थियो भने थ्रीस्टार, मनाङ मर्स्याङ्दी क्लब, संकटा क्लब र न्युरोड टिमका प्रतिनिधिहरुको उपस्थिति थियो ।
यसअघि भने जेठ ३० गते भने एन्फाका पूर्व महासचिव इन्द्रमान तुलाधरको हस्ताक्षर रहेको पत्रमा एनएसएल भदौ २५ देखि कात्तिक ५ गतेसम्म एनएसएल आयोजनाका लागि आयोजकलाई समय दिएको थियो ।
तर एन्फामा नयाँ नेतृत्व आएपछि सम्झौता रद्ध गर्ने सहमति बनेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया