फुटबल

सैन्य सुरक्षाबीच युक्रेनको फुटबल लिग हुने

इकागज |
असार २९, २०७९ बुधबार १६:४८ बजे

काठमाडौँ- रुसको आक्रमण जारी रहँदा युक्रेनको प्रिमियर लिग फुटबल (युपीएल) अगस्ट २३ तारिखबाट पुनः सुरु हुने भएको छ । अगस्ट २३ युक्रेनको झण्डा दिवस समेत हो ।

युक्रेनका खेलकुद मन्त्री भाडिम गुटसेटले सामाजिक सञ्जाल फेसबुकमार्फत युपीएल पुनः सुरु हुने जनाएको अलजजिराले उल्लेख गरेको छ ।


तर लिगका सबै खेलहरुमा भने दर्शकलाई अनुमति दिइने छैन भने हवाइ आक्रमणबाट बच्‍ने सुरक्षित उपाय अपनाइनेछ । गत फेब्रुअरी २४ मा रुसले युक्रेनमाथि सैन्य आक्रमण सुरु गरेयता लिगका खेलहरु हुन सकेका छैनन् । खेलको सुरक्षाका लागि सेना समेत खटाइने छ ।

गत डिसेम्बरमा तीन महिनाको ‘विन्टर ब्रेक’ मा गएयता लिगका खेलहरु भएका छैनन् । त्यसअघि सख्तर डोनेस्क १८ खेलबाट ४७ अंक जोड्दै लिग तालिकाको शीर्षस्थानमा रहेको थियो । डाइनामो किभ भने ४५ अंकसहित दोस्रो स्थानमा रहेको छ । डोनेस्क च्याम्पियन्स लिगको समूह चरणका लागि समेत छनोट भएको छ ।

 


Author

थप समाचार
x