फुटबल

युरोपा लिगः

ठूला क्लबलाई हराउन नायक बन्‍ने प्रयासमा सोल्डाडो

इकागज |
चैत २६, २०७७ बिहीबार ६:४२ बजे

काठमाडौँ : रोर्बटो सोल्डाडो हाल ३५ वर्षका भए । १६ वर्षअघि च्याम्पियन्स लिगमा गरेको गोल सम्झिँदा उनी अझैँ पनि रोमाञ्चित हुन्छन् । सन् २००५ मा ग्रिक विपक्षी ओलिम्पियाकोसविरुद्धको खेलमा स्ट्राइकर सोल्डाडो रियल म्याड्रिडको पहिलो ११ मा परेनन् । राउल गोन्जालेज र रोबिन्हो सुरुवाती टिममा पर्दा युवक सोल्डाडो बेन्चमा थिए । 

खेल बराबरीतर्फ अघि बढ्दै गर्दा सोल्डाडोले निर्णयक गोल गर्दै रियललाई महत्वपूर्ण जित दिलाए । युरोपियन क्लब फुटबलमा गरेको पहिलो गोलको सम्झना गर्दैगर्दा सोल्डाडो उही शैलीमा गोलको खोजीमा छन् । जुन युरोपमा उनको अन्तिम गोल हुनसक्छ । 


त्यसबखत रियलमा रहेका सोल्डाडो हाल स्पेनकै ग्रानाडामा छन् । जसले आउँदो बिहीबार युरोपा लिगमा म्यानचेस्टर युनाइटेडको सामना गर्दैछ । ग्रानाडा गत सिजन मात्रै स्पेनको पहिलो श्रेणीमा बढुवा भएको टिम हो । 

ला लिगामा उक्लिएको पहिलो सिजनमै सातौँ स्थानमा रहँदै युरोपाका लागि छनौट भएको ग्रानाडा अब फेरि युरोपा लिगमा छनौट हुन कति वर्ष लाग्ने हो, टुङ्गो छैन । अनि उनी आफ्नै लागि पनि यो अन्तिम युरोपियन प्रतियोगिता हुन सक्छ । सोल्डाडो आफैँ यसो भन्छन् । ‘त्यसकारण पनि यो मौकालाई उपयोग गर्नुपर्छ । युनाइटेडलाइ बलियो चुनौति दिने हाम्रो लक्ष्य हो,’ सोल्डाडो भन्छन् । 

सोल्डाडोले तीन मुलुकमा गरी आठ क्लबका लागि खेलेका छन् । रियल देखि फेनेरबासेसम्म । लामो समय ठूला क्लबहरुका लागि खेलेका सोल्डाडो ग्रानाडाका मुख्य खेलाडी हुन् । तीन वर्षअघि स्पेनको दोस्रो श्रेणीमा १० औँ स्थानमा रहेको ग्रानाडा युरोपाको सेमिफाइनल पुग्नसक्ने अवस्थामा पुगेको छ । जसमा डिएगो मार्टिनेजको भूमिका महत्वपूर्ण रहेको मान्छन्, सोल्डाडो । 

‘उनको प्रशिक्षणमा ग्रानाडाले राम्रो गर्न सकेको छ । हामी सबै खेलाडी उनको साथमा छौँ । प्रशिक्षकको उमेर सानै भए पनि प्रतिभा भए क्लबले राम्रो गर्न सक्छ भन्ने उदाहरण मार्टिनेज बनेका छन्,’ सोल्डाडो आफ्ना प्रशिक्षकका बारेमा भन्छन् । 

मार्टिनेजको नेतृत्वमा ग्रानाडा ला लिगामा उक्लिने मात्र होइन, युरोपामा समेत राम्रो खेल देखाएको छ । ग्रानाडाको जिम्मेवारी सम्हाल्दा ३७ वर्ष रहेका मार्टिनेज हाल स्पेनी फुटबलमा गनिएका प्रशिक्षकमध्येमा पर्छन् । 

युरोपामा मार्टिनेजको टिमका अगाडि चुनौति सानो छैन । विश्वकै चौथौँ धनी क्लब युनाइटेडको सामना गर्दा ला लिगाको चौथौँ गरिब क्लबका सोल्डाडो र उनका सहकर्मी दबाबमा रहने छन् । ‘युनाइटेड एक वा दुई खेलाडीको बलमा टिकेको टिम होइन । त्यहाँ सबै खेलाडी प्रतिभाशाली छन् । तर हामी उनीहरुलाई चुनौति दिन सक्षम छौँ । हामीले युनाइटेड जस्तो बलियो टिमलाई हराउन सपना देख्नै पर्छ,’ सोल्डाडो भन्छन् । 

सोल्डाडोले युनाइटेडविरुद्ध अन्तिम पटक सन् २०१४ मा खेलेका थिए । त्यसबखत सोल्डाडो सम्मिलत टोटनहमले युनाइटेडलाई हराएको थियो । पहिलो ७५ औँ मिनेट सम्म मैदानमा रहेका सोल्डाडोलाई युवक ह्यारी केनले प्रतिस्थापन गरेका थिए । उनै केन टोटनहमको पहिलो रोजाईको स्ट्राइकर बनेपछि सोल्डाडो स्पेन फर्किए । 

‘टोटनहमले मेरो स्थान्तरणका लागि ठूलो रकम खर्च गरेको थियो । तर मैले अपेक्षाकृत खेल देखाउन सकिन । मैले त्यहाँ दबाब थेग्न सकिँन । मेरो खराब लय र केनको उदय उस्तै समयमा भएपछि भिल्लारियल जानु नै उत्तम विकल्प बन्यो,’ सोल्डाडो सम्झिन्छन् । 

उनै केन हाल सोल्डाडोको पूर्व क्लब रियल म्याड्रिडसँग जोडिँएका छन् । ‘जो सुकै खेलाडीका लागि पनि रियलको प्रस्ताव नकार्न सजिलो हुँदैन । तर म केनले टोटनहममा उपाधि जितेको हेर्न चाहन्छु ।  उनको टोटनहम प्रति सम्मान छ । उनी क्लबलाई माया गर्छन्,’ केनबारेमा सोल्डाडो भन्छन् ।

टोटनहम छाड्दै गर्दा सोल्डाडोसँग अर्को इंग्लिस क्लब जाने विकल्प पनि थियो । तर उनी स्पेन नै फर्कन चाहे । फेनेरवासेपछि उनलाई अर्को ठूलो क्लब जाने मौका थियो । तर उनले स्पेनी लिगमा गरिब मानिएको ग्रानाडा नै रोजे । 

‘मैले १६–१७ वर्ष लामो यात्रा पार गरिसके । मैले ठूला क्लबहरुका लागि खेल्ने मौका पाए । म अहिले ३५ वर्षको भइसके । म अहिले जहाँ छु, सन्तुष्ट छु । प्रत्येक दिन अभ्यास र खेलका लागि आतुर हुन्छु । जीवनमा सन्तुष्ट हुन सिक्नु पर्ने रहेछ,’ सोल्डाडोले भने । 
 
 


Author

थप समाचार
x