साफ यू-२०: ‘माल्दिभ्सविरुद्ध हामी तीन अंकका लागि खेल्छौ’
काठमाडौँ – भारतको भुवनेश्वरस्थित कालिङ्गा स्टेडियममा सोमबारबाट सुरु हुने साफ यू-२० च्याम्पियनसीपको उद्घाटन खेलमा नेपालले माल्दिभ्सको सामना गर्दैछ । नेपाल र माल्दिभ्सबीचको खेल नेपाली समय अनुसार अपरान्ह ४:१५ बजे सुरु हुनेछ ।
च्याम्पियनसीपको पूर्व सन्ध्यामा आयोजिक प्रि-म्याच पत्रकार सम्मेलनका क्रममा नेपाली टिमका कप्तान आयुष घलानले माल्दिभ्सविरुद्ध तीन अंकका लागि खेल्ने बताए । घलानले च्याम्पियनसीपका लागि खासगरी माल्दिभ्सविरुद्धको खेलका लागि विशेष तयारी गरेको जानकारी गराए ।
‘हामीले च्याम्पियनसीपका लागि कडा मेहनत गरेका छौ । माल्दिभ्सविरुद्ध तीन अंक ल्याउने छौ,’ घलानले थपे ।
नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले नेपाल बलियो टिम भएको तथा तयारी पनि सोही हिसाबले भएका कारण नेपालले उपाधि जित्ने विश्वास व्यक्त गरे । उनले अन्य देशका युवा खेलाडीहरुले गर्ने प्रदर्शनबारे जानकारी नभएपनि नेपालले राम्रो प्रदर्शन गर्ने दावी गरे ।
प्रशिक्षक केसीले माल्दिभ्सलाई पराजित गर्न नेपाललाई समस्या नहुने विश्वास व्यक्त गरे । उनले नेपालले डेढ महिनाको तयारी गरेको बताए ।
माल्दिभ्सका प्रशिक्षक अहमद शाकिरले नेपाली युवा टोली आफ्ना लागि पनि नौलो रहेको कारण खेल्न कठिन हुने बताए । तर टोलीमा रहेका अधिकांश खेलाडी माल्दिभ्सको शीर्ष श्रेणीको लिग खेलिरहेको कारण नतिजा आफ्नो पक्षमा आउने उनले विश्वास व्यक्त गरे ।
यसअघि १९ र १८ वर्षको उमेर समुहमा हुँदै आएको च्याम्पियनसीप यस पटक २० वर्ष मुनिको उमेर समुहमा हुन लागेको हो । यसअघि नेपालले सुरुवाती दुई संस्करण जित्दा पछिल्लो संस्करण भारतले जितेको थियो ।
च्याम्पियनसीपमा नेपालले दोस्रो खेल श्रीलंकाविरुद्ध जुलाई २७, तेस्रो खेल भारतसँग जुलाई ३१ र चौथों खेल बंगलादेशसँग अगस्ट २ मा खेल्नेछ । राउण्ड रोविन लिग पछि तालिकाको शीर्ष दुई टोलीबीच अगस्ट ५ मा फाइनल खेल हुनेछ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया