उरुग्वेका स्ट्राइकर सुआरेज आफ्नो पहिलो क्लबमा आवद्ध
काठमाडौँ– लिभरपुल तथा बार्सिलोनाका पूर्व स्ट्राइकर लुइस जुआरेजले आफ्नो पहिलो क्लब नासिओनलमा आवद्ध भएका छन् । ३५ वर्षीय सुआरेजले आफ्नै देश उरुग्वेको क्लबमा आवद्ध भएको बीबीसीले जनाएको छ ।
स्पेनिस क्लब एटलेटिको म्याड्रिडसँगको सम्झौता अन्त्य भएपछि सुआरेजले उरुग्वेको प्रिमियर डिभिजनमा गत सिजन दोस्रो भएको क्लब नासिओनल गएका हुन् । तर उनी कति समयका लागि उक्त क्लबमा बस्ने भन्ने खुलाइएको छैन ।
सुआरेजले सामाजिक सञ्जालमा क्लबको जर्सी पुनः लगाउन पाएकोमा खुसी भएको बताउँदै समर्थकहरुलाई धन्यवाद दिए । केही समय अघि सुआरेज नासिओनलमा आउने चर्चा चलेपछि करिब २० हजार समर्थकले उनको चित्र भएको मास्क लगाएका थिए ।
सुआरेजले सन् २००५ मा १८ वर्षको उमेरमा नासिओनलबाट व्यावसायीक फुटबल सुरुवात गरेका थिए । उनले लिगका २७ खेलमा १० गोल गर्दै क्लबलाई उपाधि दिलाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका थिए ।
अर्को सिजन उनी युरोपको यात्रा सुरु गर्दै नेदरल्यान्ड्सको ग्रोनिजेन तथा अर्को वर्ष अयाक्सका लागि खेलेका थिए । उनी सन् २०११ मा लिभरपुल हुँदै बार्सिलोना पुगेका थिए । सन् २०१४ देखि २०२० सम्म बार्सिलोनाका लागि खेल्दा क्लबका लागि चार लिग उपाधि तथा एक च्याम्पियन्स लिग उपाधि जितेका थिए ।
उनले पहिलो सिजनमा एटलेटिकोलाई ला लिगाको उपाधि दिलाउँदा ३२ खेलमा २१ गोल गरेका थिए ।
सुआरेज उरुग्वेको राष्ट्रिय टिमका लागि सर्वाधिक गोलकर्ता हुन् । उनले १ सय ३२ खेलमा ६८ गोल गरेका छन् ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया