फुटबल

भारतविरूद्ध जितका लागि खेल्ने छौँ : प्रशिक्षक केसी

इकागज |
साउन १४, २०७९ शनिबार १७:५० बजे

काठमाडौँ–  भारतको भुवनेश्वरमा जारी साफ यू-२० च्याम्पियनसिप अन्तर्गतको तेस्रो खेलमा नेपालले आयोजक भारतको सामना गर्दैछ । नेपाल र भारतबीचको खेल नेपाली समयअनुसार साँझ ७:१५ बजेबाट कालिङ्गा स्टेडियममा सुरु हुनेछ ।  

पाँच टिमबीच राउन्ड रोविनको आधारमा जारी प्रतियोगितामा नेपालले लगातार दुई खेल जितेको छ, भने भारतले एक खेलमा पराजय तथा एक खेलमा जित हात पारेको छ । 


नेपालले पहिलो खेलमा माल्दिभ्सलाई ४-० तथा दोस्रो खेलमा श्रीलंकालाई ३-० ले पराजित गरेको थियो । यता भारतले भने पहिलो खेलमा बंगलादेशसँग २-१ ले पराजित हुँदा दोस्रो खेलमा श्रीलंकालाई ४-० ले पाखा लगाएको थियो । यता बंगलादेशले भने लगातार तीन खेल जितेको छ । 

अघिल्ला दुबै खेल जितेको नेपालले भारतलाई पनि पराजित गर्दै जितको यात्रा कायम गर्ने लक्ष्य राखेको छ । नेपाली टिमका मुख्य प्रशिक्षक मेघराज केसीले भारतविरुद्ध जितका लागि खेल्ने बताए । 

‘हामी नेपालबाट भारत आउँदा नै चारवटा देशसँग खेल्न भनेर आएका हौँ, र हामीले सबै प्रतिस्पर्धी टिमलाई एकै नजरले हेरिरहेका छौँ । हामी हाम्रो टिममा विश्वास गर्छौँ । नेपालले मेहनत अनुसारको प्रदर्शन गर्नेमा ढुक्क छु । नेपालले भारतविरुद्ध जितका लागि खेल्नेछ,’ केसीले भने ।  

प्रशिक्षक केसीका अनुसार टिममा कुनै समस्या नरहेको तथा कुनै पनि खेलाडी घाइते नरहेको बताए । 

नेपालले अन्तिम खेल बंगलादेशविरुद्ध अगस्ट २ मा खेल्नेछ । राउन्ड रोविनको खेलपछि शीर्ष दुई टोली फाइनल प्रवेश गर्नेछन् । फाइनल अगस्ट ५ मा हुनेछ । 
 


Author

थप समाचार
x