फुटबल

फिफा विश्वकप २०२२: मेस्सी, रोनाल्डो र नेयमारका लागि उपाधि जित्ने अन्तिम अवसर हुनसक्ला ?

इकागज |
साउन १५, २०७९ आइतबार १६:२ बजे

काठमाडौँ- कतारमा नोभेम्बर २१ देखि डिसेम्बर १८ सम्म हुने फिफा विश्वकप २०२२ मा वर्तमान समयका दुई महान फुटबलर मैदानमा उत्रदैँछन् । ती हुन् लियोनल मेस्सी र क्रिस्टियानो रोनाल्डो ।

रोजर फेडेरर र राफेल नाडाल, मोहम्मद अली र जो फ्रेजियर जस्तै अर्जेन्टिनी स्टार मेस्सी तथा पोर्चुगिज स्टार रोनाल्डो सधैँ एकअर्काको पर्यायवाची हुनेछन् । संयोग के छ भने दुवै खेलाडीले आफ्नो देशबाट विश्वकपको उपाधि उचाल्न सकेका छैनन् । त्यतिमात्र नभएर सन्न्यासपछि पनि मेस्सी वा रोनाल्डो मध्ये को उत्कृष्ट भन्ने बहस जारी नै रहनेछ । 


 सन् २०२२ उनीहरुका लागि फुटबल इतिहासकै सबै भन्दा ठूलो उपाधिहरु मध्येको एक जित्ने ३५ वर्षे मेस्सी तथा ३७ वर्षे रोनाल्डोका लागि अन्तिम मौका हुन सक्छ । 

स्पेनिस खेल पत्रकार अल्भारो रोमियोको विचारमा यसपटक अर्जेन्टिना विश्वकप जित्ने एक बलियो टोली हो । दक्षिण अमेरिकी टिमले मेस्सीको चमचमाउँदो खेल जीवनमा कमी रहेको विश्वकपको उपाधि दिलाउन सक्छ । 

सन् २०१४ को विश्वकपमा अर्जेन्टिना फाइनलमा जर्मनीसँग पराजित हुँदा अर्जेन्टिनाको खेल मेस्सीको वरपर घुमेको थियो तर अहिले उत्कृष्ट डिफेन्डर र मिडफिल्डरले भरिएको कारण अर्जेन्टिनाले विश्वकप जित्ने सम्भावना बलियो रहेको रोमियोको विश्वास छ । 

तर रोनाल्डोका लागि अवस्था फरक छ । रोमियोको विचारमा पोर्चुगलको टिम अर्जेन्टिना जतिको बलियो भने छैन । राम्रा खेलाडी भएपनि विश्वकपका लागि प्ले-अफबाट स्थान बनाउनुले नै पोर्चगुल उत्कृष्ट टिम नभएको देखाउने उनको धारणा छ ।

कतारमा रोनाल्डो र मेस्सीले खुशी वा निराश जे भएपनि उनीहरुको चर्चा भने चलिरहने छ । तर उनीहरुसँगै विश्व मञ्चमा चम्कने अन्तिम मौका हुन सक्छ भनेर सोच्ने अन्य चर्चित खेलाडीहरु पनि हुनेछन् । 

लुइज सुआरेजः

लगातार तीनवटा विश्वकप खेलिसकेका ३५ वर्षीय उरुग्वेका स्ट्राइकर सुआरेजले १२ खेलमा ७ गोल गरिसकेका छन् । तर उनी विवाद र चर्चामा आइरहने खेलाडीको रुपमा बढी चिनिन्छन् । रोमियोका अनुसार सुआरेजले भने अर्जेन्टिनाका लागि खेल्दा खराब पाटोलाई छाँयामा पारेका छन् । विश्वकप छनोट अन्तर्गत उनी सर्वाधिक गोलकर्ता खेलाडीहरुमध्ये एक थिए । उनी अझै पनि विश्वकै एक उत्कृष्ट स्ट्राइकर हुन् ।

लुका मोड्रिचः 

सन् २००६, २०१४ र २०१८ को विश्वकप खेलेका ३७ वर्षीय क्रोयसियन मिडफिल्डर मोड्रिचले विश्वकपमा १२ खेल खेल्दै २ गोल समेत गरेका छन् । रोमियोका अनुसार मोड्रिच क्रोयसियाले पाएको सबैभन्दा उत्कृष्ट खेलाडी पाएको हो । रोमियोको विश्वास के छ भने मोड्रिचको उमेर बढी भएपनि उनी शारीरिक रुपमा सन् २०१८ झै बलिया तथा लामो समय मैदानमा टिक्न सक्ने खेलाडी हुन् ।

नेयमारः 

३० वर्षीय ब्राजिलियन स्ट्राइकर नेयमारका लागि यो तेस्रो विश्वकप हुनेछ । उनले हालसम्म विश्वकपमा १० खेल खेल्दै ६ गोल गरिसकेका छन् । रोमियोका अनुसार नेयमार ब्राजिलका मुख्य खेलाडी मानिन्छन् र उनले अझै पनि सन् २०१४ को पीडा भुल्न सकेका छैनन् होला किनभने क्वार्टरफाइनलमा घाइते भएपछि उनको विश्वकपको यात्रा टुंगिएका थियो । नेयमारलाई थाहा छ यसपटक यदि उनले राम्रो प्रदर्शन गर्न सकेनन् भने भिनिसियस जुनियर, राफिन्हा, एन्टोनियो अथवा रिचार्लिसनले उनलाई विस्थापित गर्नेछन् ।

त्यसैले यस वर्षको विश्वकप कतिपय खेलाडीका लागि इतिहासमा नाम लेखाउने तथा कतिपयका लागि यसअघिका विश्वकपमा भोगेको निराशालाई मेटाउन कतार उत्कृष्ट स्थल हुन सक्छ । 

(श्रोतः युरोन्यूज)
 


Author

थप समाचार
x