फिफा विश्वकप २०२६: एसियाको टिम संख्या बढ्ने, यस्तो छ छनोट प्रकृया
काठमाडौँ – सन् २०२६ को फिफा विश्वकपका लागि एसिया महादेशको सहभागी टिमको संख्या करिब दोब्बरले बढाइने भएको छ । फिफाले एसियन फुटबल फेडेरेसन (एएफसी) को टिम संख्या ८.५ पुर्याउने भएको खेलनाउ अनलाइन पोर्टलले जनाएको छ । यस हिसाबले २०२६ को विश्वकपमा एसियाबाट कम्तिमा ८ तथा बढीमा ९ टिमको सहभागिता रहनेछ ।
यसअघि विश्वकपमा एसियाको टिम संख्या ४.५ रहेको थियो । खासमा सन् २०२६ मा अमेरिका, मेक्सिको र क्यानाडामा हुने विश्वकपमा ४८ टिमको सहभागिता रहनेछ । जसका कारण फिफाले विभिन्न महादेशको टिम संख्या बढाउने भएको हो ।
सन् २०२६ को विश्वकपको छनोट विभिन्न चार चरणमा हुने छ ।
प्रारम्भिक चरण-१:
प्रारम्भिक चरण-१ मा एएफसीको वरीयता अनुसार २६ देखि ४७ सम्म पर्ने २२ टिम समावेश हुनेछन् । जसमध्ये होम एन्ड अवे आधारमा दुई-दुई टिमबीच खेल हुने तथा विजेता ११ टिम प्रारम्भिक चरण-२ मा प्रवेश गर्नेछन् ।
प्रारम्भिक चरण-२:
यस चरणमा ३६ टिमको सहभागिता रहनेछ । प्रारम्भिक चरण-१ बाट आएका ११ तथा एएफसीको वरीयतामा शीर्ष २५ भित्र पर्ने टिमको सहभागिता रहनेछ । ३६ टिमलाई ९ समूहमा विभाजन गरिनेछ र त्यसमा समान ४-४ टिम रहनेछन् । यसमा समूहभित्र राउन्ड रोविन र होम एन्ड अवेका आधारमा खेल हुनेछ । त्यसपछि ९ वटै समूहका शीर्ष दुई टिम गरी जम्मा १८ टिम एएफसी एसियन क्वालिफायर्समा प्रवेश गर्नेछन् ।
एएफसी एसियन क्वालिफायर्सः
यहाँ १८ टिमलाई तीन समूहमा बिभाजन गरिनेछ । प्रत्येक समूहमा समान ६-६ टिम रहनेछन् र उनीहरुबीच राउन्ड रोविन तथा होम एन्ड अवेका आधारमा खेल हुनेछ । तीनवटै समूहका शीर्ष दुई टोली अर्थात ६ टिम विश्वकपका लागि सिधै छनोट हुनेछन् ।
एसियन प्लेअफः
एसियन क्वालिफायर्स अन्तर्गत समूहमा तेस्रो तथा चौथों भएका जम्मा ६ टिमलाई दुई समूहमा विभाजित गरिनेछ । यसमा सिंगल राउन्ड रोविन आधारमा खेल हुने तथा दुबै समूहका शीर्ष टिम अर्थात २ टिम विश्वकपका लागि छनोट हुनेछन् ।
त्यसपछि दुबै समूहमा दोस्रो भएका टिमबीच प्लेअफ खेल हुनेछ र विजेता टोलीले इन्टरकन्टिनेन्टल प्लेअफ खेल्नेछ । इन्टरकन्टिनेन्टल प्लेअफमा एसियाली टिमले जिते एसियाबाट ९ टिमको सहभागिता रहन सक्छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया