फुटबल

कसले देला म्यानचेस्टर सिटी र लिभरपुललाई उपाधि दौडमा चुनौती ?

इकागज |
साउन १७, २०७९ मंगलबार १४:५७ बजे

काठमाडौँ-  पछिल्ला वर्षहरुमा म्यानचेस्टर सिटी र लिभरपुलबीचको प्रतिद्वन्द्वीताका कारण इंग्लिस फुटबलको अर्को स्तरमा पुगेको छ । इंग्लिस प्रिमियर लिगका पछिल्ला पाँच सिजनमध्ये  पेप गुआर्डियोलाको सिटीले चार पटक शीर्ष उपाधि हात पार्दा जर्गन क्लोपको लिभरपुलले एक पटक उपाधि चुमेको छ ।

यस्तो लाग्छ सन् २०२२-२३ को लिगमा यी दुई टिम नै हावी हुनेछन् किनभने सिटीले नर्वेजियन गोल मसिन अर्लिङ हालान्ड तथा इंग्ल्यान्डका मिडफिल्डर काल्भिन फिलिप्स तथा लिभरपुलले उरुग्वेका स्ट्राइकर डार्विन नुनेजलाई भित्र्याएका छन् ।


शनिबार राति दुई टिम कम्युनिटी शिल्डमा भिड्दा लिभरपुलको ३-१ जितमा नुनेजले एक गोल गरेका थिए । 

त्यसो भए यी दुई टिमलाई कसले चुनौती देला ? 

चेल्सीः अमेरिकी नागरिक टोड बोहेलीले चेल्सीलाई खरिद गरेपछि क्लबमा उत्कृष्ट खेलाडी भित्र्याउने मुडमा देखिन्छन् । चेल्सीले सिटीका रहिम स्टेरलिङलाई ५० मिलियन पाउन्ड तथा सेनेगलका कालिडोउ कोउलीबेलीलाई भित्र्याएको छ । मुख्य प्रशिक्षक थोमस टुचेलले इंग्लिस खेलाडी रहिमलाई रोमेलु लुकाकुको स्थानमा भित्र्याएका छन् । 
गत सिजनमा एक समय शीर्ष स्थानमा रहेरपनि अन्तिम तेस्रो स्थानमा सिमित हुन पुगेको चेल्सीलाई मिडफिल्डर काइ हाभेर्ज, फरवार्ड टिमो वेर्नर तथा मिडफिल्डर क्रिस्टियन पुलिसिकले चेल्सीलाई अन्य क्लबलाई चुनौती दिन मदत गर्ने अपेक्षा गरिएको छ । 

टोटेनहमः टोटेनहमले गत सिजन खराब सुरुवात गरेपनि मुख्य प्रशिक्षक एन्टोनियो कोन्टेले लिगको चौथों स्थानमा पुर्‍याउँदै च्याम्पियन्स लिगमा स्थान सुरक्षित गरे । तर यस सिजन भने टोटेनहमले मिडफिल्डर इभान पेरिसिक, गोलरक्षक फ्रेजर फोर्सटर, मिडफिल्डर वाइभेस बिसोउमा, फरवार्ड रिचार्लिसन, डिफेन्डर क्लेमेन्ट लेङगलेट तथा राइट-ब्याक डिजेड स्पेन्सलाई भित्र्याएको छ र उनीहरुकै भरमा लिग सिटी तथा लिभरपुललाई चुनौती दिने अवस्थामा पुगेको छ । युभेन्टस, चेल्सी तथा इन्टर मिलान जस्ता टिमलाई लिगको उपाधि दिलाएका मुख्य प्रशिक्षक कोन्टेको टोटेनहम शीर्ष दुईको दावेदार टिम हो । 

आर्सनलः गत सिजन शीर्ष चारमा पर्न असफल भएको आर्सनलले यस पटक भने डिफेन्डर मारक्विनहोस,  मिडफिल्डर फावियो भियरा, गोलरक्षक म्याट टर्नर, फरवार्ड गाब्रियल जेसस तथा डिफेन्डर-मिडफिल्डर ओलेकजान्डर जिनचेन्कोलाई भित्र्याएको छ । 

मुख्य प्रशिक्षक मिकेल आर्टेटा गत सिजन युवा खेलाडीहरुमा भर परेका थिए तर यसपटक उनीहरुको अनुभवले नै क्लबलाई सिटी तथा लिभरपुल जस्ता क्लबलाई चुनौती दिने अपेक्षा छ । 

म्यानचेस्टर युनाइटेडः गत सिजन छैटौं स्थानमा चित्त बुझाउन बाध्य भएको म्यानचेस्टर युनाइटेडले लिगको उपाधि नजितेको यसपटक १० वर्ष पुरा हुनेछ । यस पटक भने युनाइटेडको पुरानो साख जोगाउने लक्ष्यमा रहेका मुख्य प्रशिक्षक एरिक टेन हागले डिफेन्डर टायरेल मालासिया, मिडफिल्डर क्रिस्टियन एरिक्सन तथा डिफेन्डर लिजान्द्रो मार्टिनेजलाई भित्र्याएका छन् ।

युनाइटेडका चर्चित तथा ठूला नाम भएका पल पोग्बा, जेसे लिङ्गार्ड तथा एडिन्सन काभानी अन्त गएपनि एरिक्सनको आगमनले उनीहरुको अभावलाई पुरा गर्ने अपेक्षा गरिएको छ । युनाइटेडका लागि सबै भन्दा ठूलो कुरा भनेको क्रिस्टियानो रोनाल्डोको टिमसँगको भविष्य हुनेछ । 
 


Author

थप समाचार
x