कोरोना महामारीबीच फुटबल ट्रान्सफर विन्डो
गत अप्रिलको अन्त्यतिर युभेन्टसका स्पोर्टिङ निर्देशक फबियो पाराटिसीले आउदै गरेको ‘ट्रान्सफर विन्डो’ बारे पहिलोपटक मुख खोले । खेलाडी किनबेचबारे हम्मेसी टिप्पणी नगर्ने उनले भने, ‘खेलाडी बजारमा युभेन्टस सिर्जनशील हुन जरुरी छ ।’
फुटबलको ‘ट्रान्सफर विन्डो’ मा उनले भनेको जस्तो सिर्जनशील कसरी हुने ? थोरै पैसामा राम्रा खेलाडी किनेर । हुन त सबै क्लबहरूको उद्देश्य त्यही नै हुन्छ । कोरोनाले प्रभावित पारेको युरोपियन फुटबलको ‘ट्रान्सफर विन्डो’ यसपटक पाँच महिनासम्म चल्यो, जुन आफैमा फरक थियो । किनभने अरुबेला यतिको लामो समय खेलाडी सरुवा बजार चल्दैन ।
अहिलेको अवस्था फरक रह्यो । कारण ? कोरोना महामारीबीच रोकिएका लिगहरू ढिलोसम्म सञ्चालन । सधैझैं योपटक पनि ‘ट्रान्सफर विन्डो’ ले रौनकता भने ल्यायो नै । युरोपियन फुटबल पछ्याउनेहरूका लागि ‘ट्रान्सफर विन्डो’ को महत्व सधै उच्च हुन्छ । एक त कोरोनाको प्रभाव । अर्को ला-लिगाले क्लबहरूलाई वित्तीय अनुशासनमा रहन जारी गरेको निर्देशन । त्यसका साथै लिग नियमन गर्ने निकायले सबै क्लबलाई लागू गर्न भनेको तलब सीमा । यी सबै कारणहरूले गर्दा स्पेनिस पहिलो श्रेणीका क्लबहरूले धेरै पैसा खर्च गर्न सक्ने अवस्था थिएन । ‘ट्रान्सफर विन्डो’ को अन्तिम दिन बार्सिलोनाले आर्थिक बर्षको घाटा आठ करोड ८० लाख पाउन्ड बराबर रहेको घोषणा गर्यो । उसको तलब खर्च अत्याधिक रहेकाले केही खेलाडी बेच्नै पर्ने बाध्यता थियो ।
आधुनिक फुटबलमा कतिपय खरिद-बिक्री सामाजिक सञ्जालबाट पनि प्रेरित हुन्छ ।
बार्सिलोनाले एक-एक खेलाडी किनबेच गर्यो । उसले राइट ब्याक नेलसन सेमेडोलाई इङलिस क्लब उल्भरह्याम्पटनलाई बेच्दै उनको स्थानमा आयाक्सबाट सर्जिनो डेस्ट ल्यायो । बार्सिलोनाले एरिक गार्सिया र मेम्पिस डिपेलाई पनि क्लबमा ल्याउन खोजेको थियो । तर ‘ट्रान्सफर विन्डो’ को अन्तिम दिनसम्म पनि ओसमाने डेम्बेले र सामुएल उमटिटीका लागि खरिदकर्ता नभेटेपछि बार्सिलोनाको योजना पूरा भएन ।
उता रियल म्याड्रिडले यसपटक एउटा पनि खेलाडी किनेन । उसले बोरुसिया डर्टमन्डका जेडन सान्चोलाई खरिद गर्ने योजना नबनाएको होइन, तर नौ करोड यूरोमा मात्र, जुन डर्टमन्डले राखेको मूल्यभन्दा निकै कम थियो । कोरोनाले प्रभावित फुटबल बजारमा डर्टमन्डले खेलाडी बिक्रीमा लचकता अपनाउँछ भन्ने रियलको अपेक्षा थियो । ‘जेडन सान्चो रियल जान इच्छुक थिए । उनी स्थान्तरणको एकदमै नजिक थिए,’ सान्चोसँग नजिक रहेको एकजनाले यस पंक्तिकारसँग भनेका थिए । तर त्यति कम मूल्यमा डर्टमन्डले सान्चोलाई क्लब छाड्न दिनेवाला थिएन ।
आर्सनलले एथलेटिको म्याड्रिडबाट थोमस पार्टेलाई ५ करोड यूरो खर्च गरेर खरिद गर्यो । त्यो पनि ‘ट्रान्सफर विन्डो’ सकिनु पाँच घण्टाअगाडि मात्रै । आधुनिक फुटबलमा कतिपय खरिद-बिक्री सामाजिक सञ्जालबाट पनि प्रेरित हुन्छ । पार्टेको आर्सनल स्थान्तरण त्यसकै उदाहरण हो । आर्सनल समर्थकहरूले महिनौदेखि क्लबलाई सामाजिक सञ्जालमार्फत पार्टेलाई अनुबन्धन गर्न दवाब दिदै आइरहेका थिए । अरु क्लबका समर्थकहरूले पनि आफ्ना क्लबहरूलाई यसरी नै दवाब दिन्छन् । सामाजिक सञ्जालले फुटबलमा ल्याएको परिवर्तनहरूमा सायद यो पनि एक हो । आर्सनलले अन्ततः पार्टेको ‘रिलिज क्लज’ नै भुक्तानी गर्यो ।
कुनै पनि खेलाडीको ‘रिलिज क्लज’ भुक्तानी गर्नु भनेको खरिद गर्ने क्लबले बिक्री गर्ने क्लबसँग रकममा कुनै छलफल नगर्नु हो । आर्सनलले पार्टेको हकमा त्यही गर्यो । युभेन्टसका निर्देशक पाराटिसीको खेलाडी बजारमा सिर्जनशील हुनुपर्छ भनेर दिएको अभिब्यक्ति आर्सनलले मनन गरेको हुनुपर्छ ।
उता आर्सनलको सहरी प्रतिद्वन्द्वी चेल्सीले यसपटक कहलिएका प्रतिभाहरूलाई अनुबन्धन गर्यो । कोरोनाको प्रभाव ठूला क्लबहरूको बजेटमा पर्ने अनुमान गरिरहदाँ चेल्सीले त्यसको छनक दिएन । चेल्सीले यसपटकको ‘ट्रान्सफर विन्डो’ का लागि राम्रो गृहकार्य गरेको देखियो । चेल्सीका रसियन अर्बपति मालिक रोमन अब्रामोभिच त्यसैपनि खेलाडीमा आँखा चिम्लेर खर्च गने गर्छन् ।
यसपटक चेल्सीले आफूले जुन खेलाडीमा आखाँ लगायो त्यही खेलाडी अनुबन्धन गर्न सफल रह्यो । सायद अब्रामोभिचले भनेको हुनुपर्छ, यसपटक हामी दोस्रो रोजाईका खेलाडीहरूमा चित्त बुझाउने छैनौं । त्यसो त चेल्सीले खेलाडी खरिदमा सदा जस्तो अन्य प्रतिद्वन्द्वी क्लबबाट प्रतिस्पर्धाको सामना गर्नुपरेन ।
चेल्सीले हाकिम जियच, टिमो बेरनर, काइ हार्बट्स, बेन चिलवेल, थियागो सिल्भा र एडावर्ड मेन्डीलाई अनुबन्धन गर्यो । त्यस्तै क्यालम हड्सन ओडोइलाई क्लब छाड्नबाट रोक्यो । यी सबै खेलाडीहरूले चेल्सीलाई बलियो बनाएको छ । मूल प्रश्न भनेको प्रशिक्षक फर्यान्क लाम्पार्डले उनीहरूलाई कसरी प्रयोग गर्छन् भन्ने हो ।
रियललाई यसपटक खेलाडी बेच्नैपर्ने दवाब थियो । फुटबलको खेलाडी बजारमा एउटा क्लबको बाध्यताको फाइदा अर्को क्लबले उठाउने नै हो । रियलको बाध्यतालाई टोटनह्याम र इन्टर मिलानले उपयोग गरे ।
युरोपमा खेलाडी किनबेच प्रायः मध्यरातमा हुन्छ । यसपटक पनि फरक दृश्य देखिएन । काइ हार्बट्सको स्थान्तरण पक्का हुदै गर्दा बार्यन म्युनिख र पेरिस सेन्ट जर्मेनबीच च्याम्पियन्स लिगको खेल भइरहेको थियो । शायद त्यही समयमा बार्यन लेभरकुजनका निर्देशकहरूले एस रोमाका निर्दशहरूलाई टेलिफोन गरी हामीलाई प्याट्रिक सिक चाहियो भनेको हुनुपर्छ । त्यसको दुई सातापछि दुबै खेलाडीहरूको स्थान्तरणका बारेमा औपचारिक घोषणा भयो ।
इंगलिस प्रिमियर लिगमै यसपटक अर्का विश्व स्तरीय खेलाडीको आगमन भयो- थियागो अलकन्ट्रा । शायद बार्यनदेखि लिभरपुलतिरको उनको स्थान्तरण, वर्षकै महत्वपूर्ण स्थान्तरणका रुपमा रहनेछ । गत जूनमा उनी बायर्नसँगको आफ्नो सम्झौता लम्ब्याउन तयार थिए । तर पछि उनले क्लब छाड्ने निर्णय लिए, जुन आफैमा अचम्मलाग्दो थियो । किनभने बार्यनमा उनी पहिलो रोजाईको मिडफिल्डरका रुपमा खेलिरहेका थिए । साथमा महत्वपुर्ण उपाधीहरू पनि जितिरहेकै थिए ।
उनले बार्यन छाड्ने घोषण गरेपछि उनको पुरानो क्लब बार्सिलोनाले उनलाई अनुबन्धन गर्न नखोज्ने कुरै भएन । तर बाजी मार्यो लिभरपुलले । प्रशिक्षक योर्गेन क्लपले भिडियो कल गरेपछि थियागोलाई आफ्नो नयाँ क्लबका रुपमा लिभरपुल छान्न गाह्रो भएन । लिभरपुलले थियागो खरिदमा २ करोड ५० लाख यूरो खर्च गर्यो । खेलाडीको स्तरअनुसार त्यो स्थान्तरण रकम नगण्य हो ।
रियललाई यसपटक खेलाडी बेच्नैपर्ने दवाब थियो । फुटबलको खेलाडी बजारमा एउटा क्लबको बाध्यताको फाइदा अर्को क्लबले उठाउने नै हो । रियलको बाध्यतालाई टोटनह्याम र इन्टर मिलानले उपयोग गरे । जोसे मोउरिन्होले २३ बर्षिय लेफ्ट ब्याक सर्जियो रेगुइलोनलाई २ करोड ५० लाख यूरो हालेर खरिद गरे । त्यस्तै राइट ब्याक आसरफ हाकिमी एन्ट्नियो कोन्टेको नेतृत्वमा रहेको इन्टरतर्फ लागे । यी दुबै फुलब्याकहरूलाई प्रतिभाशाली मानिन्छ । तर रियलजस्तो ठूलो क्लबमा टिक्न कहिलेकाहीं प्रतिभाले मात्र पनि पुग्दैन । प्रशिक्षकको विश्वास पनि जित्नुपर्छ । जिदान उनीहरूबाट प्रभावित हुन सकेनन् शायद ।
प्रिमियर लिग र ला लिगाका क्लबहरूले साबिकका बर्षहरूमा २० देखि ३० करोड यूरोसम्म खेलाडीहरूमाथि खर्च गर्दै आएका थिए । तर योपटक दृश्य फरक देखियो । ठूला क्लबहरूले समेत आफूलाई चाहिएका खेलाडीहरू भविष्यमा पूर्ण रुपमा खरिद गर्नसक्ने प्रावधानसहित लोनमा अनुबन्धन गरे । जस्तै, युभेन्टस्ले फियोरेन्टिनाबाट फेडरिको किएसालाई क्लबमा भित्र्यायो । सम्झौताअनुसार युभेन्टस्ले किएसाको लागि पहिलो र दोस्रो वर्ष क्रमश दुई तथा ८० लाख यूरो लोन फि तिर्नेछ । अनि सन् २०२२ मा चार करोड यूरो चुक्ता गरी किएसालाई इटालियन च्याम्पियनले स्थायी खेलाडी बनाउनेछ ।
ग्यारेथ बेलको टोटेनह्याम अनि लुइस स्वारेजको एथलेटितर्फको स्थान्तरणले यसपटक फुटबल बजारमा रौनकता थप्यो । बेल आफ्नो पुरानो क्लब लोनमा फर्केका हुन भने स्वारेज एथलेटिको सित्तैमा पुगेका हुन् । यसको मतलब एथलेटिकोले स्वारेजलाई भित्राएबापत बार्सिलोनालाई स्थान्तरण रकम तिर्नु पर्दैन । यी स्थान्तरणहरू एक बर्षअघिसम्म असम्भव लाग्थे ।
कोरोनाले युरोपियन फुटबललाई प्रभाव पार्दैन थियो त सायद युभेन्टसले म्यानचेस्टर युनाइटेडलाई पउल पोग्बा किन्ने प्रस्ताव राख्थ्यो । त्यो पनि १० करोड यूरो स्थान्तरण रकमसहितको प्रस्ताव । तर कोरोनापछिको अवस्थामा युभेन्टस्ले एक खेलाडीमाथि त्यत्रो पैसा खर्च नगर्ने निधो गर्यो । तर यसको करिब आधा रकम युभेन्टसले डेयान कुलुसेभेस्की माथि खर्च गर्यो । सन् २००० मा जन्मेका स्वीडिसलाई इटालियन सिरी ए कै उत्कृष्टमध्येका एक प्रतिभा मानिन्छ । उनलाई क्रिस्टियानो रोनाल्डोले त्यत्तिकै मन पराएको होइन ।
म्यानचेस्टर युनाइटेडले पनि सिरी एकै अर्का प्रतिभा एमद ट्राओरेलाई अनुबन्धन गर्यो । तर अठार वर्षीय विङगर जनवरीमा मात्रै आफनो नयाँ क्लब जानेछन् । ट्राओरेले इटालियन क्लब एटलान्टाका लागि सिरी एमा पच्चीस मिनेट मात्र खेलेका छन् ।
उता एभर्टनले पनि केही महत्वपूर्ण खेलाडीहरू अनुबन्धन गर्यो । कार्लो एनसिलोट्टी प्रशिक्षकका रुपमा भित्रिएपछि एभर्टनले खेलाडीमाथि मन खोलेर पैसा खर्च गरिरहेको छ । यसपटक उसले हामेस रोदि«गेजजस्तो विश्वस्तरीय खेलाडी भित्रायो भने इटालियन लिगमा धेरै बर्ष उच्च स्तरको फुटबल खेलेका एलनलाई पनि इङ्ल्याण्ड आउन प्रेरित गर्यो । यी दुबै खेलाडीहरू एभर्टन आउन किन राजी भए त ? उत्तर सजिलो छ । एनसिलोट्टी ।
युरोपका ठुला लिगहरूमा नाम चलेका धेरै खेलाडीहरूको क्लबसँगको सम्झौता सकिदैछ । उनीहरूले आउँदो जनवरीमै आफूले चाहेको क्लबसँग प्रि एग्रिमेन्टमा हस्ताक्षर गर्न सक्नेछन् । त्यस्ता खेलाडीमध्येका एक हुन्- लियोनल मेस्सी । उनले आगामी ‘समर ट्रान्सफर विन्डो’मा बार्सिलोना छाड्न आउँदो जनवरीमै अर्को क्लबसँग सम्झौता गर्न सक्नेछन् । म्यानचेस्टर र पेरिसमा रहेका क्लबहरूले मेस्सीको बार्सिलोनासँगको सम्बन्धलाई नजिकबाट नियालिरहेका छन् । तर मेस्सीको नयाँ कथा त्यति सजिलै कोरिनेवाला छैन । (बेलायती अखबार दि गार्डियनमा प्रकाशित आलेखको अनुवाद)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया