साफः २३ खेलमा अपराजित भारतलाई कसले लगाउला पूर्णबिराम ?
तस्बिरः एआईएफएफ
काठमाडौँ- मंगलबारबाट काठमाडौँमा छैटौँ संस्करणको साफ महिला फुटबल च्याम्पियनसीप सुरु हुँदैछ । अहिलेसम्म भारतबाहेक अन्य टोलीले उपाधि हात पार्न सकेको छैन । नेपालले चारपटक तथा बंगलादेशले एक पटक उपविजेतामा चित्त बुझाएका छन् ।
भारत छैटौँ पटक पनि उपाधि जित्ने लक्ष्यसहित नेपाल आएको छ । अघिल्ला पाँचवटै संस्करणमा भारतलाई कुनै पनि टिमले पराजित गर्न सकेको छैन । भारत अहिलेसम्म खेलेका २३ खेलमै अपराजित छ ।
२३ खेलमध्ये भारतले २२ खेलमा जित हात पार्दा केवल एक खेलमा बराबरी खेलेको छ । सन् २०१६ मा भारतमै भएको च्याम्पियनसीपमा बंगलादेशले समूह चरण अन्तर्गतको खेलमा घरेलु टोलीलाई गोलरहित बराबरीमा रोकेको थियो ।
भारत च्याम्पियनसीपमा अपराजित मात्र छैन उसले सर्वाधिक १ सय ३८ गोल समेत गरेको छ । २३ खेलमा ६ गोलमात्र खाएको छ । भारतपछि सर्वाधिक गोल गर्ने टिममा नेपाल पर्छ । नेपालले १ सय २ गोल गर्दा १७ गोल खाएको छ ।
च्याम्पियनसीप अन्तर्गत अहिलेसम्म सबैभन्दा फराकिलो जित भारतले नै हात पारेको छ । सन् २०१० मा बंगलादेशमा भएको पहिलो संस्करणको च्याम्पियनसीपमा भारतले भुटानलाई १८-० ले पराजित गरेको थियो ।
यसपटक सबै टिमले तयारी राम्रो भएको दाबी गरिरहेका छन् । तर बंगलादेश र नेपालले मात्र खुलेरै च्याम्पियनसीप जित्ने दाबी गरिरहेका छन् । नेपालले भने भारतको अपराजित यात्रामा विश्राम लगाएर उपाधि जित्ने दाबी गरेको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया