साफ यू-१७ फाइनल: के भारतमाथि नेपाल हाबी होला ?
काठमाडौँ- श्रीलंकामा जारी साफ यू-१७ पुरुष च्याम्पियनसीप फुटबलको उपाधिका लागि आज नेपाल र भारत भिड्दैछन् । नेपाल र भारतबीचको फाइनल भिड्न्त नेपाली समय अनुसार राति ७:१५ बजेबाट कोलम्बो रेसकोर्समा सुरु हुनेछ ।
यस अघि यू-१५/१६ उमेर समूहमा ६ संस्करणको च्याम्पियनसीप आयोजना भएपनि यस वर्षदेखि यू-१७ उमेर समूहमा खेलाउन थालिएको हो । यसअघि भारत तीन पटक च्याम्पियन हुँदा नेपालले तीन पटक उपविजेतामा चित्त बुझाएको थियो । भारतले भने नेपाललाई नै तीनै पटक पराजित गरेर उपाधि जितेको छ ।
यसपटक भने नेपाल उपाधि जित्ने तथा उपाधिको खडेरी तोड्ने मनासायमा रहेको छ । समूह चरणमै भारतलाई ३-१ ले पराजित गरेको नेपाल उच्च मनोबलको साथ भारतविरुद्ध मैदानमा उत्रनेछ ।
तर नेपाली टिमका मुख्य प्रशिक्षक उर्जन श्रेष्ठले भने भारतविरुद्धको फाइनल खेल त्यति सजिलो भने नहुने बताए । फाइनल अघि आयोजित प्रि-म्याच कन्फ्रेन्सका क्रममा श्रेष्ठले भारतविरुद्धको फाइनल खेल सजिलो नहुने धारणा राखेका थिए ।
समूह चरणमा भुटानलाई २-१ ले पराजित गरेको नेपालले सेमिफाइनलमा भने श्रीलंकालाई ६-० ले पाखा लगाएको थियो । यता समूह चरणमा नेपालसँग पराजित भएको भारतले भने भुटानलाई ३-० ले हराएको थियो । उसले सेमिफाइनलमा बंगलादेशलाई २-१ ले पराजित गरेको थियो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया