फुटबल

यू-२० एसियन कपमा छनोट हुने सम्भावना न्यून छः प्रशिक्षक केसी

इकागज |
भदौ २९, २०७९ बुधबार १३:४० बजे

काठमाडौँ- नेपाली यू-२० राष्ट्रिय फुटबल टिमका प्रशिक्षक मेघराज केसीले आगामी वर्ष हुने एएफसी यू-२० एसियन कपमा छनोट हुने नेपालको सम्भावना न्यून रहेको बताएका छन् ।

बहराइनमा जारी छनोट अन्तर्गत घरेलु टोली बहराइनविरुद्ध खेल्नु अघि मुख्य प्रशिक्षक केसीले नेपाली टोलीको एसियन कपमा छनोट हुने सम्भावना एकदम कम रहेको बताए ।


छनोटको समूह ‘बी’ अन्तर्गत नेपाल र बहराइनबीचको खेल शेख अली बिन मोहम्मद अल खलिफा स्टेडियममा नेपाली समय अनुसार राति ११:४५ बजे सुरु हुनेछ ।

तर नेपालले अघिल्ला दुई खेलमा पराजय भोगेको थियो । नेपालले पहिलो खेलमा भुटानसँग २-० तथा कतारसँग ३-१ ले पराजित भएको थियो ।

‘छनोट हुने सम्भावना न्युन छ । किनभने, समूह विजेता र उत्कृष्ट उपविजेता दुवै बन्न गाह्रो छ । किनभने हामीले दुई खेल हारिसकेका छौँ,’ केसीले भने ।  

‘आज नेपाली टिमको सतप्रतिशत खेल हेर्न पाइन्छ । पहिलो खेलमा शारिरीक रुपमा पूर्ण तयार थिएनौं । कतारको स्तर धेरै माथिको थियो । त्यसैले आजको खेलमा उत्कृष्ट प्रदर्शन गर्ने लक्ष्य छ,’ उनले थपे ।

तर उनले नेपाली टिम बहराइनको समय र वातावरणसँग घुलमिल भइसकेका कारण राम्रो प्रदर्शन गर्ने लक्ष्य रहेको बताए ।

‘एएफसी यु २० एसियन कपमा छनोट हुनेभन्दा पनि हामी राम्रो प्रदर्शन गर्ने हाम्रो प्रमुख लक्ष्य हो ।’

नेपालले अन्तिम खेल बंगलादेशविरुद्ध आइतबार खेल्ने तालिका रहेको छ ।


Author

थप समाचार
x