फुटबल

महिला साफः भारतविरुद्ध नेपालको अग्निपरीक्षा ?

इकागज |
भदौ ३१, २०७९ शुक्रबार ८:५५ बजे

काठमाडौँ- साफ महिला च्याम्पियनसीप फुटबल अन्तर्गत शुक्रबार हुने दोस्रो सेमिफाइनल खेलमा नेपाल र भारतबीच प्रतिस्पर्धा हुँदैछ । नेपाल र भारतबीचको खेल त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा साँझ ५:३० बजे सुरु हुनेछ ।

साफको महिला च्याम्पियनसीप अन्तर्गत नेपाल र भारत दोस्रो पटक सेमिफाइनलमा भिड्दैछन् । यसअघि सन् २०१६ मा भएको चौँथो संस्करणमा आयोजक भारतले नेपाललाई ३-१ गोल अन्तरले पराजित गर्दै फाइनलमा पुगेको थियो ।


अन्य चार संस्करणमा भने नेपाल र भारतबीच फाइनलमा भिड्न्त हुँदा भारतले नै उपाधि जितेको थियो ।

यस पटक संयोग के छ भने चौँथो संस्करणमा सेमिफाइनलमा भारतसँग पराजित हुँदा नेपाली टिमको मुख्य प्रशिक्षक कुमार थापा रहेका छन् । यस पटक पनि कुमार थापा नेपाली टिमका मुख्य प्रशिक्षक छन् ।

तर उनले यसपटक भारतलाई पराजित गर्ने रणनीतिका साथ अघि बढिरहेका छन् । उनले भारतलाई पराजित गर्ने विश्वास समेत व्यक्त गरेका छन् । थापाले नेपालको उपाधिको खडेरी तोड्ने अपेक्षा गरेका छन् ।

यता अघिल्ला पाँचवटै संस्करणको उपाधि जितेको भारत पनि उक्त दौडलाई कायम राख्न चाहन्छ । तर साफ च्याम्पियनसीपमा २५ खेलको अपराजित यात्रामाथि बंगलादेशले विश्राम लगाएपछि भारतको आत्मविश्वासमा भने धक्का लागेका छ ।

च्याम्पियनसीप अन्तर्गत बंगलादेशले भारतलाई समूह चरणको अन्तिम खेलमा ३-० ले पराजित गरेको थियो । जसका कारण भारत समूह ‘ए’ मा उपविजेता बन्यो । भारतले तीन मध्ये दुई खेलमा जित हात पारेको थियो ।

यता नेपालले समूह ‘ए’ को विजेता बन्दा भुटान र श्रीलंकालाई पाखा लगाएको थियो ।


Author

थप समाचार
x