फुटबल

कतारका आप्रवासी कामदारलाई क्षतिपूर्ति दिनुपर्ने फुटबल समर्थकको माग

इकागज |
भदौ ३१, २०७९ शुक्रबार ११:४० बजे

काठमाडौँ- यसै वर्ष कतारमा आयोजना हुने फिफा विश्वकपको संरचना निर्माणका क्रममा भएका मानव अधिकार उल्लंघनको घटना पीडितलाई क्षतिपूर्ति दिनुपर्ने धारणा फुटबल समर्थकहरूले राखेका छन् ।

एम्नेस्टी इन्टरनेसनलले १५ देशमा गरेको सर्वेक्षणका क्रममा फुटबल समर्थकहरूले मानव अधिकार उल्लंघनका कारण पीडित आप्रवासी कामदारहरूलाई क्षतिपूर्ति दिनुपर्ने धारणा राखेको रोयटर्सले जनाएको छ ।


एम्नेस्टी इन्टरनेसनले युगभ मार्फत युरोपका १० सहित १५ देशका १७ हजार समर्थकमाझ गरेको सर्वेक्षणका क्रममा ७३ प्रतिशतले पीडित आप्रवासी कामदारलाई क्षतिपूर्ति दिनुपर्ने धारणा राखे । केवल १० प्रतिशतले त्यसको विपक्षमा धारणा राखे ।

६७ प्रतिशत समर्थकले आफ्ना देशका फुटबल संघले यसविरुद्ध सार्वजनिक रुपमा आवाज उठाउनुपर्ने धारणा राखे । यता फिफाले कतारका कामदारको संरक्षणका लागि पछिल्ला वर्षहरूमा उचित उपायहरू अपनाइएको जनाएको छ ।

तर गत मे महिनामै एम्नेस्टीसँगै अन्य अधिकार समूहले फिफालाई आप्रवासी कामदार क्षतिपूर्ति दिन ४ सय ४० मिलियन अमेरिकी डलर छुट्याउन माग गरेका थिए ।

अर्कोतर्फो कतार सरकारले एम्नेस्टीले सन् २०२१ मा आप्रवासी कामदारको श्रमशोषण अझै भइरहेको भन्ने लगाएको आरोपलाई अस्विकार गरेपनि श्रम प्रणालीमा सुधारको काम जारी रहेको जनाएको छ । कतारले नोभेम्बर २० देखि फिफा विश्वकप आयोजना गर्दैछ ।


Author

थप समाचार
x