छैठौं संस्करणको साफ महिला च्याम्पियनसीप
साफ महिला इतिहासमा बंगलादेश बन्याे नयाँ च्याम्पियन
काठमाडौँ- घरेलु टोली नेपाललाई ३–१ गोल अन्तरले हराउँदै बंगलादेश छैठौं संस्करणको साफ महिला च्याम्पियन भएको छ । यससँगै साफ महिला इतिहासमा बंगलादेश नयाँ च्याम्पियन बनेको छ । यसअघिका पाँचै संस्करणमा भारतले उपाधि जितेको थियो ।
त्रिपुरेश्वर स्थित दशरथ रंगशालमा भएको प्रतिस्पर्धामा नेपालले पहिलो हाफमा दुई गोल खाँदा दोस्रो हाफमा एक गोल गर्न र एक गोल खान पुगेको थियो । बंगलादेशले च्याम्पियनसिपमा नयाँ इतिहास लेख्न सफल भएको हो । १५ हजार ७ सय ३० समर्थकले भरिएको रंगशालामा नेपाल बंगलादेशको तुलनामा चल्न सकेन । वर्षाका कारण ओसिलो मैदानमा दुबै टोलीले स्वभाविक खेल खेल्न सकेका थिएनन् ।
सुरुआत प्रतिस्पर्धात्मक बनेको खेलको १४औं मिनेटमा साम सुनाहरले गोल गर्दै भ्रमणकारी टोली बंगलादेशलाई अग्रता दिलाएकी थिइन् । मोनिका चक्माको बायाँ भागबाट गरेको कटब्याकमा सुनाहरले आकर्षक शैलिमा पोष्टको दिँदा नेपाल पछि परेको थियो । डिफेन्डरमा राम्रो तालमेल नभएको अवस्थामा सुनाहरले जाली चुमाउन सफल भएकी थिइन् । गोल खाएपछि केही पेश भएको नेपालविरुद्ध बंगलादेशले ४२औं मिनेटमा अग्रता दोब्बर बनायो । श्रीमोती कृष्णरानी सरकारले मारिया मन्दाले १८ यार्ड बक्सबाहिरबाट उपलब्ध गराएको पासलाई सदुपयोग गर्न सफल भएकी हुन् ।
दोस्रो हाफमा सावित्रा भण्डारी मैदान प्रवेश गरिन् । अनिता केसीको स्थानमा मैदान प्रवेश गरेसँगै बलमा पकड जमाएको नेपालले ७०औं मिनेटमा अग्रता घटायो । अनिता बस्नेतले एकल प्रयासमा गोल गर्दै नेपाललाई २–१ को अवस्थामा ल्याइन । दायाँ बक्सबाट अनिताले दोस्रो बार च्याप्दै बललाई जाली चुमाएकी हुन । तर, ७७औं मिनेटमा श्रीमोतीले बंगलादेशको अग्रतालाई ३–१ मा पुर्याइन् । त्यसपछि आगाडि बढेर खेलेको नेपालले केही राम्रा अवसर बनाए पनि सफल हुन सकेन । केही राम्रा प्रहार पोस्ट नजिकै बाट बाहिरिँदा नेपालको प्रयास बारम्बार विफल भएका थिए ।
यस अघिका प्रतिस्पर्धामा स्पष्ट जित निकाल्दै आएको बंगलादेशले फाइनलमा नेपालमा हराउन सफल भएको हो । साफ इतिहासमा बंगलादेशसँग कहिल्यै नहारेको नेपालले सोमबार भने त्यो इतिहास दोहोर्याउन असफल रह्यो । त्यसअघि २८औं मिनेटमा १८ यार्ड बक्सको बायाँ साइडबाट अनिता केसीको प्रहारलाई बंगलादेशी गोलकिपर चक्माले विफल पारेकी थिइन् । ३५औं मिनेटमा सरु लिम्बुलाई बक्सको बाहिर बंगलादेशी रक्षकले लडाएपछि नेपालले फ्रिकिकको मौका पाएको थियो । जसमा अनिता बस्नेतले प्रहार गरेको फ्रिकिक बंगलादेशी गोलकिपर पन्च गर्दै बाहिर फालिदिँदा नेपालको अवसर खेर गएको थियो । ४८औं मिनेटमा अनिता बस्नेतले गरेको कर्नरमा अमृता जैसीको प्रहार सेकेन्ड बारमा लागेर फर्कियो । खेलको ५२औं मिनेटमा नेपालले गोलको सुनौलो मौका गुमायो । अनिताले बायाँ बक्सबाहिरबाट गरेको क्रसमा रश्मीको फ्रि हेडर पोल नजिकैबाट बाहिरियो ।
दोस्रो हाफमा पनि नेपालले अपेक्षा अनुसारको प्रदर्शन गर्न सकेन । केही वान टु वान अवस्थामा पनि नेपालले राम्रो मुभ बनाउन असफल रह्यो र उपाधि पाहुना टोलीलाई सुम्पिन बाध्य बन्यो । यससँगै नेपाल पाँचौ पटक फाइनलमा पराजित भएको छ । यसअघि च्याम्पियनसिपको चौथो संस्करणबाहेक सबै संस्करणको फाइनलमा भारतसँग पराजित भएको थियो । सात देशको सहभागिता रहेको प्रतियोगितामा साविक विजेता भारत नेपालसँग पराजित भएको थियो । उता बंगलादेशले भने पहिलो पटक सेमिफाइनलमा प्रवेश गरेको भुटानमाथि रवाफिलो जित निकाल्दै अन्तिम दुईमा स्थान पक्का गरेको थियो ।
जारी प्रतियोगितामा बंगलादेशले कूल २३ गोल गर्दा एक गोल खान पुग्यो । नेपालले भने १२ गोल गर्दा तीन गोल खान पुग्यो ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया