फिफा विश्वकप १९६२: लबिङ, झडप र ब्राजिलको वर्चश्व
काठमाडौँ- प्रत्येक चार वर्षमा आयोजक महाद्वीप परिवर्तन गर्ने फिफाको निर्णय र दक्षिण अमेरिकाले पुनः युरोपमै आयोजना गरे प्रतियोगिता बहिष्कार गर्ने धम्की दिएपछि १२ वर्षपछि विश्वकप दक्षिणी गोलार्द्धमा फर्कियो ।
सन् १९६२ को विश्वकप आयोजनाका लागि अर्जेन्टिना छनोट हुने अपेक्षा गरिएपनि चिलीले विभिन्न प्रतियोगिता तथा सम्मेलनहरूमा फिफाका सदस्य राष्ट्रहरूलाई लबिङ गर्दै विश्वकप आयोजनाका लागि समर्थन प्राप्त गर्न सफल भयो ।
विश्वकप आयोजनाको अधिकार प्राप्त गरेपछि चिली फुटबल फेडेरेसनका तत्कालीन अध्यक्ष कार्लोस डिटबर्नले आफूहरूसँग केही नभएको तथा विश्वकपका लागि सबथोक गर्ने बताएका थिए । जुन प्रतियोगिताको अनौपचारिक नारा नै बन्यो ।
तर, विश्वकप सुरु हुनुभन्दा २ वर्षअघि चिलीमा सन् १९६० मा ९.५ म्याग्नीच्युटको भूकम्प गयो । विश्वकपको तयारीलाई नराम्ररी प्रभावित गर्याे र ८ सहरमा हुनुपर्ने प्रतियोगिता ३ सहमा सीमित हुन पुग्यो ।
जब विश्वकप सुरु भयो, मैदानमा केवल फुटबल मात्र भएन, कुटाकुट समेत भयो । सबैभन्दा खराब अवस्था भनेको चिली र इटालीबीचको खेलका क्रममा दुवै टिमका खेलाडीहरूले मुक्काबाजीमा उत्रिए । उक्त खेललाई ‘ब्याटल अफ सान्टियागो’ नामकरण गरियो तथा इटालीका खेलाडीहरूलाई प्रहरीको सहयोगमा मैदानबाट बाहिर निकाल्नु परेको थियो ।
तर, पनि प्रतियोगिता जारी नै रह्यो र ब्राजिलले चेकोस्लोभाकियालाई फाइनलमा ३-१ ले पराजित गर्दै उपाधि जित्यो । तर, ब्राजिलका स्टार खेलाडी पेले भने समूह चरणमा चेकोस्लोभाकियाविरुद्धको खेलमा घाइते भएपछि अन्य खेलहरू गुमाउन पुगे । जसका कारण गारिन्चाले टिमलाई नेतृत्व प्रदान गरेका थिए ।
आयोजक चिलीले युगोस्लाभियालाई १-० लाई पराजित गर्दै तेस्रो स्थान हात पार्यो, जुन सन् १९६० को भूकम्पका कारण निराश बनेका देशवासीलाई खुसी दिने एउटा मौका बन्यो । उक्त विश्वकपमा चार खेलाडीले गोल्डेन बुट प्राप्त गरे ।
(श्रोतः अलजजिरा)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया