फुटबल

साफ यू-१५

के नेपाल च्याम्पियन बन्‍न सक्छ ?

इकागज |
कात्तिक २५, २०७९ शुक्रबार ११:७ बजे

काठमाडौँ- बंगलादेशमा जारी साफ यु-१५ महिला च्याम्पियनसिपको अन्तिम खेलमा नेपालले आज आयोजक बंगलादेशविरुद्ध खेल्दैछ । नेपाल र बंगलादेशबीचको खेल ढाकास्थित बिएसएसएस मुस्तफा कमल मैदानमा नेपाली समय अनुसार ४:१५ बजेबाट सुरु हुनेछ ।

नेपाल, बंगलादेश र भुटानगरी तीन राष्ट्र सहभागी साफ च्याम्पियनसिपमा नेपालले अहिलेसम्म खेलेका तीनवटै खेलमा जित हात पारेको छ ।


अन्तिम खेलमा पनि जितलाई निरन्तरता दिँदै दिपा रोकायको कप्तानीमा रहेको नेपालले उपाधि जित्ने योजना बनाएको छ । त्यतिमात्र नभएर नेपालले बंगलादेशलाई बराबरीमा रोके पनि च्याम्पियन बन्नेछ । बंगलादेश भने ‘गर या मर’ को स्थितिमा छ ।

डबल राउन्ड रोबिन आधारमा जारी च्याम्पियनसिपको शीर्षस्थानमा रहने टोली सिधै च्याम्पियन हुने प्रावधान छ । सुरुवाती तीनवटै खेल जित्दै नौं अंकसहित अंक नेपाल तालिकाको शीर्षस्थानमा छ । बंगलादेश तीन खेलबाट ६ अंक जोड्दै दोस्रो स्थानमा छ । भुटानले भने चारवटै खेलमा पराजित भयो ।

नेपाललाई च्याम्पियन बन्न बराबर मात्रै काफि हुँदा बंगलादेशलाई भने जितको विकल्प छैन । यदि बंगलादेशले खेल जितेको अवस्थामा अंक बराबर हुनेछ । गोल अन्तरमा नेपाल पछिपर्दा बंगलादेश भने स्वतः च्याम्पियन बन्नेछ । बंगलादेशको सात गोलले माथि रहेको छ ।

भगवती रानामगरको प्रशिक्षणमा रहेको नेपालले पहिलो खेलमा बंगलादेशलाई ७–० अन्तरले पराजित गरेको थियो । दोस्रो र तेस्रो खेलमा नेपालले बंगलादेश र भुटानविरुद्ध संघर्षपूर्ण १–० को जित निकालेको हो । बंगलादेशले भने पहिलो खेलमा भुटानलाई ८–० ले पराजित गर्दा दोस्रो खेलमा नेपालसँग घरेलु मैदानमा पराजित भएको थियो । भुटानविरुद्ध दोस्रो खेलमा बंगलादेश ९–० ले विजयी भएको थियो ।


Author

थप समाचार
x