आर्सनललाई आठ अंकको अग्रता
काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत शीर्ष स्थानको आर्सनलले साविक विजेता म्यानचेस्टर सिटीसँग आठ अंकको अग्रता बनाएको छ । आइतबार राति भएको खेलमा टोटेनहमलाई २-० गोलअन्तरले पराजित गर्दै आर्सनलले उपाधिका लागि आफूलाई बलियो अवस्थामा उभ्याएको हो ।
आर्सनलको जितमा कप्तान मार्टिन ओडेगार्डले एक गोल गर्दा टोटेनहमका गोलरक्षक ह्युगो ललोरिसले आत्मघाती गोल गरे ।
ललोरिसले १४ औँ मिनेटमा गरेको आत्मघाती गोलसँगै आर्सनलले सुरुवाती अग्रता लिएको थियो । त्यसपछि ३६ औँ मिनेटमा ओडेगार्डले गरेको गोलसँगै आर्सनलले महत्वपूर्ण ३ अंक जोड्यो ।
यसअघि शनिबार राति म्यानचेस्टर युनाइटेडले म्यानचेस्टर सिटीलाई पराजित गरेको फाइदा भने आर्सनललाई पुग्यो ।
जितसँगै आर्सनलले १८ खेलबाट ४७ अंक जोड्दा सिटीको ३९ अंक छ । पाँचौ स्थानमा रहेको टोटेनहमले भने १९ खेलबाट ३३ अंक जोडेको छ ।
यसैबीच, न्यूकासलले फुलहामलाई १-० ले पराजित गर्दै तेस्रो स्थानमा उक्लिएको छ । १९ खेलबाट ३८ अंक जोडेको न्यूकासल १८ खेलबाट समान ३८ अंक जोडेको युनाइटेड भन्दा गोलअन्तरमा अगाडी रहेको छ ।
अर्को खेलमा भने चेल्सीले क्रिस्टल प्यालेसमाथि १-० को जित निकाल्यो । १० औँ स्थानमा रहेको चेल्सीले १९ खेलबाट २८ अंक जोडेको छ । १२ औँ स्थानको क्रिस्टल प्यालेसको १८ खेलमा २२ अंक छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया