फुटबल

टोटेनहममाथि म्यानचेस्टर सिटीको शानदार पुनरागमन जित

इकागज |
माघ ६, २०७९ शुक्रबार ९:३६ बजे

काठमाडौँ- इंग्लिस प्रिमियर लिग फुटबलअन्तर्गत साविक विजेता म्यानचेस्टर सिटीले टोटेनहममाथि शानदार जित हात पारेको छ । इतिहाद स्टेडियममा बिहीबार राति भएको खेलमा २ गोलले पछिपरेको सिटीले टोटेनहमलाई ४-२ गोलअन्तरले पराजित गर्‍यो ।

सिटीको जितमा रियाद महरेजले २ तथा जुलियन अल्भारेज र अर्लिङ हालान्डले एक-एक गोल गरे । टोटेनहमका लागि डेजान कुलुसेभ्स्की र इमर्सन रोयालले एक-एक गोल फर्काए ।


डेजानले ४४ औँ मिनेटमा गोल गर्दै टोटेनहमलाई अग्रता दिलाए भने इमर्सनले पहिलो हाफको इन्जुरी समयमा गोल गर्दै टोटेनहमको अग्रता दोब्बर बनाए ।

अल्भारेजले ५१ औँ मिनेट तथा हालान्डले ५३ औँ मिनेटमा गोल गरेपछि सिटी २-२ को बराबरीको अवस्थामा पुगेको थियो । त्यसपछि महरेजले ६३ औँ तथा ९० औँ मिनेटमा गोल गरेपछि सिटीले महत्वपूर्ण ३ अंक बटुल्यो ।

जितसँगै लिगको दोस्रो स्थानमा रहेको सिटीले १९ खेलबाट ४२ अंक जोडेको छ भने शीर्ष स्थानको आर्सनलको १८ खेलमा ४७ अंक छ । २० खेलबा ३३ अंक जोडेको टोटेनहम भने पाँचौ स्थानमा यथावत छ ।


Author

थप समाचार
x