फुटबल

भद्रपुर झापा गोल्डकप: १८ वर्षदेखि जीर्ण रंगशालाले स्वरुप फेर्दै, आजै दुई मिर्गौला पीडित खेलाडी सम्मानित

इकागज |
फागुन १०, २०७९ बुधबार १९:२० बजे

काठमाडौँ- प्रथम भद्रपुर झापा गोल्ड कपले आज दुई जना मिर्गौलापीडित खेलाडीलाई सम्मान गरेको छ । बुधबारको खेल सकिएपछि राजिनाथ राजवंशी र प्रेमकुमार श्रेष्ठलाई जनही ५१ हजार रुपैयाँ सहयोग गरिएको भद्रपुर झापा गोल्ड कपका अध्यक्ष दिपेश ढकालले जानकारी दिए ।

अध्यक्ष ढकालले दुवै सम्मानित खेलाडीलाई खादा र सम्मानपत्रसहित सम्मान गरेका थिए ।


पूर्व राष्ट्रिय फुटबल खेलाडी र आर्थिक अवस्था कमजोर भएकाले सम्मान गरिएको अध्यक्ष ढकालले बताए । सम्मानित दुवै खेलाडी भद्रपुरका रहेका छन् । फुटबल खेलमा लामो समयसम्म योगदान गरेकालाई सम्मान गरिएको उनको भनाइ छ ।

यस क्षेत्रको गौरवमय रंगशालाको भित्री तथा बाहिरी संरचनालाई निर्माण गरिएको अध्यक्ष ढकालले जानकारी दिए । रंगशालाको पूरा भाग मर्मत गरिरहेको उनले जानकारी दिए । ‘रंगशालाको बाँकी रहेको सबै संरचनाहरू मर्मत गर्छौ,’ उनले भने ।

उनका अनुसार गोल्ड कप भइरहेको रंगशाला सरकारले निर्माण गरेको हो । रंगशालाको संरक्षकत्व भद्रपुर नगरपालिकाले गरिरहेको छ । १८ वर्षदेखि जिर्ण अवस्थामा रहेको रंगशालाले स्वरुप फेर्दै लगिएको ढकालले बताए ।

‘नगरपालिकाले  रंगशालाका लागि ३० लाख रुपैयाँ सहयोग गरेको छ,’ ढकालले अगाडि थपे,’ रंगशाला प्रवेशको सम्पूर्ण बाटो सबै हामीले बनाएका हौ । शौचालयदेखि आवश्यक संरचना सबै मर्मत गरिसकेका छौ ।‘

दुई महिनादेखि निरन्तर यसको मर्मत तथा संरक्षणमा लागिरहेको ढकालले बताए । सरकारी संरचना निर्माण गर्ने अभियान चलाएसँगै उनी भन्छन्,’ हाम्रो आफ्नो आवास भन्दा पनि सरकारी संरचना राम्रो बनाउने अभियानमा लागेका छौ । सरकारी संरचना हाम्रो भन्दा पनि राम्रो बनाएर हस्तान्तरण गर्छौ ।‘

गोल्ड कप फागुन ७ देखि १६ गते सम्म हुन्छ । पहिलो हुने टिमले १३ लाख र दोस्रो हुनेले ७ लाख रुपैयाँ पाउनेछन् ।

विभिन्न छिमेकी मुलुक गरी १० वटा समावेश छन् । भुटान, बंगलादेश, भारत र नेपाली टिम ७ टिम रहेको अध्यक्ष ढकालले जानकारी दिए ।


Author

थप समाचार
x