८० वर्षमा फुटबलमा जीवन खोज्दै जापानिज हजुरबाहरू
काठमाडौँ- मुट्सहिको नोमुराले आफ्नो फुटबल क्यारियरमा १८ वटा विश्वकप हेरिसकेका छन् अर्थात उनले फुटबलमै ७० वर्ष पूरा गरिसकेका छन् । जापानी राष्ट्रिय फुटबल टिमका पूर्व सदस्य नोमुरा यसै महिनादेखि जापानको टोकियोमा ८० वर्षमाथिका लागि सुरु भएको ‘सकर फर लाइफ’ (एसएफएल) लिगका लागि तयारी गरिरहेका छन् ।
८३ वर्षीय नोमुरा तथा उनका सहकर्मीहरु जापानी समाजमा बुढ्यौलीलाई पर सार्दै बढ्दो उमेरमा पनि सक्रिय जीवन जिउनेहरु मध्ये पर्छन् । जापानमा बुढ्यौलीमा पनि सक्रिय जीवन विताउनेहरु बढ्दै गएका छन् । अर्कोतर्फ जापानमा बुढ्यौलीहरुको संख्या विश्वकै तुलनामा बढ्दो छ ।
‘जतिबेला म बच्चा थिएँ, पुरुषहरु ५० वा ६० को दशकमै हजुरबुवाको रुपमा चिनिन्थे,’ कैयौ अमेच्योर क्लबका सदस्य समेत रहेका नोमुराले बताए, ‘तर हामी अहिले ८० को दशकमा पनि सक्रिय छौ । यो आश्चर्य हो ।’
जापानको औसत आयु बढ्दै गएर ८५ वर्ष पुगेको छ, जुन विश्वकै सबैभन्दा बढी हो । जापानमा ६५ वर्ष वा त्यो भन्दा बढी उमेरका करिब १२ करोड ६० लाख मानिस रहेका छन् ।
यसले जापानमा सामाजिक परिवर्तन समेत ल्याएको छ । ७० वर्ष भन्दा माथिका मध्ये अधिकांश रोजगारमा छन् । सरकारले पनि एकै पटक निवृत्तिभरणको रुपमा ठूलो रकम दिने वाचा गरेका कारण पनिले पनि बढ्दो उमेरमा पनि मानिसहरु काम गरिरहेका छन् । जापानमा वृद्धवृद्धा सुरक्षा गार्ड र पसलेको रुपमा देखिनु सामान्य बन्दै गएको छ ।
एसएफएल लिगका महासचिव युटाका इटोले ०-८० डिभिजनले जापानी सामाजलाई दर्शाउने र यसले बढ्दो उमेरमा पनि मानिसहरु सक्रिय हुन सक्छन् भन्ने देखाएको बताए ।
२० वर्ष पहिले टोकियोले ०-६० उमेर समूह निर्माण गर्यो । सन् २०१२ मा ०-७० तथा पाँच वर्षछि ०-७५ तथा अहिले ०-८० उमेर समूह निर्माण गरेको छ । यसरी ८० वर्षे उमेर समूहको फुटबल लिग बुधबारबाट सुरु भएको हो । ५५ वर्षीय जापानी खेलाडी काजुयोशी मिउराले पोर्चुगलको दोस्रो डिभिजन क्लब ओलिभिरेन्सेमा आवद्ध भएको केही हप्तापछि यो लिग सुरु भएको हो ।
एसएफएलमा सहभागी टिमका खेलाडीहरुको औसत उमेर ८३.५ वर्ष भएपनि चर्को घाममा भएको उद्घाटन खेलका क्रममा उनीहरु निकै सक्रिय देखिएपनि उनीहरुको प्रदर्शनमा बढ्दै उमेर र शारीरिक अवस्थाले प्रभाव पारेको थियो ।
बढ्दो उमेरसँगै गतिमा गिरावट आएपनि नोमुरा भने आफ्नी छोरी तथा नातिनीलाई हप्ताको अन्त्यतिर फुटबल सिकाउने गरेका छन् ।
‘कहिलेकाहिँ म सिनियर खेलाडीको खेल हेर्न जान्छु र यसले मलाई अझै मेहनत गर्नुपर्छ भन्ने भान गराउँछ,’ नोमुराले आफ्नी ४८ वर्षीया छोरी युरिकोलाई बताए ।
‘म बुवाको प्रशंसा गर्छु र बढ्दो उमेरमा म पनि उहाँझै खेल्न चाहन्छु,’ युरिकाले थपिन् ।
(रोयटर्सका लागि किम कियुङ-हुन, सतोषी सुगियामा र टम ब्याटम्यानले तयार पारेको आलेखलाई इकागजका सन्जीव शाहले भावानुवाद गरेका हुन् ।)
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया