फ्रेन्च लिग: शीर्षस्थानमा रहेको पिएसजीको सहज जित
काठमाडौं - फ्रेन्च लिग वानमा पेरिस सेन्ट जर्मेन (पिएसजी) ले सहज जित हासिल गरेको छ । घरेलु टोली ट्रोएसलाई ३–१ ले पराजित गर्दै लिगको शिर्षस्थानमा रहेको पिएसजीले उपाधि जित्ने सम्भावना कायमै राखेको छ ।
ट्रोएसको खेल मैदानमा आइतबार राति भएको खेलको ८ औं मिनेटमा केलियन एमबाप्पेले सुरुवाती गोल गरेर पिएसजीलाई १–० को अग्रता दिलाएका थिए । त्यसपछि दुवै टोलीबाट गोलका लागि अनवरत प्रयास गरे पनि कुनै गोल हुन सकेन, अन्ततः पहिलो हाफ १–० मा टुंगियो ।
उता, दोस्रो हाफको ५९औं मिनेटमा भिटिन्हाले गोल गर्दै पिएसजीको अग्रतालाई दोब्बर पारिदिए तर ८३औं मिनेटमा जेभियर चाभालेरिनले गोल फर्काउँदै खेललाई २–१ को स्थितिमा ल्याए ।
अन्तिम समयमा रोमाञ्चक बन्न पुगेको खेलको ८६ औं मिनेटमा पछि फावियन रुइजले गोल गर्दै पिएसजीलाई ३–१ को स्थितिमा अघि बढाए । अन्ततः खेल ३–१ मा टुंगिन पुग्यो ।
यस जितसँगै शीर्षस्थानको पिएसजीले ३४ खेलबाट ७८ अंक जोडेको छ भने पराजित ट्रोएस समान ३४ खेलबाट २२ अंक जोडेर १९औं स्थानमा सीमित छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया