चार खेल अगावै बार्सिलोनाले उचाल्यो ला लिगाको उपाधि
काठमाडौँ- बार्सिलोनाले चार खेल अगावै स्पेनिस ला लिगाको उपाधि उचालेको छ । आइतबार राति स्पान्योललाई ४-२ ले पराजित गरेसँगै बार्सिलोनाले ला लिगाको उपाधि जितेको हो । बार्सिलोनाले सन् २०१८-१९ को सिजनपछि पहिलो पटक ला लिगाको उपाधि हात पारेको हो ।
बार्सिलोनाले ३४ खेलबाट ८५ अंक जोड्दै उपाधिमाथि कब्जा जमाएको हो । उसले थप चार खेल खेल्न बाँकी नै छ । यता दोस्रो स्थानको रियल मड्रिडले ३४ खेलबाट ७१ अंकमात्र जोड्न सकेको छ ।
सन् २०२१ को अगस्टमा लियोनल मेस्सीले क्लब छाडेर गएपछि तथा २०२१ कै नोभेम्बरमा जाभी हर्नान्डेजलाई मुख्य प्रशिक्षक नियुक्त गरेपछि बार्सिलोनाले पहिलो पटक लिगको उपाधि जितेको हो ।
आइतबार राति बार्सिलोनालाई जित दिलाउन रोवर्ट लेवान्डोस्कीले २ तथा अलेजान्द्रो बाल्डे र जुलेस कौन्डेले एक-एक गोल गरे । स्पान्योलका लागि जाभी पाउडो र जोसेलुले एक-एक गोल फर्काए ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया