च्याम्पियन्स लिगः दुई इटालियन क्लबको भिडन्त
काठमाडौँ- च्याम्पियन्स लिग फुटबलको फाइनल प्रवेशका लागि इटाली दुई क्लब इन्टर मिलान र एसी मिलान भिड्दैछन् । इन्टर मिलान र एसी मिलानबीचको सेमिफाइनलको दोस्रो लेग सान सिरो स्टेडियममा नेपाली समयअनुसार राति १२:४५ बजेबाट सुरु हुनेछ ।
पहिलो लेग इन्टर मिलानले २-० गोलअन्तरले जितेका कारण दोस्रो खेलमा भने एसी मिलान दबाबमा हुनेछ । तर एसी मिलानले पहिलो लेगमा भोगेको पराजयलाई उल्ट्याउँदै फाइनलको यात्रा तय गर्न चाहन्छ ।
पहिलो लेग आफ्नो पक्षमा पारेको इन्टर मिलान भने दोस्रो लेगमा पनि सोही प्रदर्शनलाई निरन्तरता दिने योजनासहित मैदानमा उत्रिनेछ ।
यी दुई टोलीबीचको विजेताले च्याम्पियन्स लिगको फाइनलमा इंग्लिस क्लब म्यानचेस्टर सिटी अथवा स्पेनिस क्लब तथा साविक विजेता रियल मड्रिडको सामना गर्नेछ । सिटी र मड्रिडबीचको दोस्रो लेग बुधबार हुनेछ । पहिलो लेगमा दुबै टोलीले १-१ बराबरि खेलेका थिए ।
च्याम्पियन्स लिगको फाइनल भने टर्कीको इस्तानबुलमा जुन १० तारिखमा हुने तालिका रहेको छ ।
जोस माउरिन्होले सन् २०१० मा इन्टर मिलानले च्याम्पियन्स लिगको फाइनलमा पुर्याएपछि पहिलो पटक इटालियन क्लब फाइनलमा प्रवेश गर्न लागेको हो ।
पहिलो लेगमा पराजय भोगेपनि घाइते भएका आफ्ना स्टार खेलाडी राफायल लियाओको आगमनसँगै एसी मिलानले नतिजा आफ्नो पक्षमा पार्ने अपेक्षा राखेको छ । तर इन्टर मिलानले भने आफ्नो घरेलु मैदानको फाइदा उठाउने योजनामा रहेको छ । यता इन्टर मिलानका लागि सेन्टर ब्याक मिलान एसक्रिनियरले खेल गुमाउने भएका छन् ।
एसी मिलान र इन्टर मिलानले एक-अर्काविरुद्ध २ सय ३६ पटक खेलेकोमा इन्टर मिलानले ८८ तथा एसी मिलानले ७९ खेलमा जित हात पारेका छन् । ६९ खेल बराबरीमा टुंगिएको छ ।
कमेन्ट गर्नुहोस्
Sign in with
Facebook Googleकमेन्ट पढ्नुहोस्
0 प्रतिकृया