फुटबल

साफ च्याम्पियनसीप

पाकिस्तानलाई हराउँदै सान्त्वना जित हात पार्ला नेपालले ?

इकागज |
असार ११, २०८० सोमबार १३:५८ बजे

काठमाडौँ- भारतमा जारी साफ च्याम्पियनसीप फुटबलमा नेपालले भोलि (मंगलबार) अन्तिम खेल खेल्दैछ । नेपालले समूह ‘ए’ को अन्तिम खेलमा पाकिस्तानको सामना गर्दैछ ।

नेपाल र पाकिस्तानबीचको खेल बैँग्लुरुस्थित श्री कान्तिराभा स्टेडियममा नेपाली समयअनुसार दिउँसो ३:४५ बजेबाट सुरु हुनेछ । तर यसअघिका दुवै खेलमा पराजित भएका नेपाल र पाकिस्तान प्रतियोगिताको सेमिफाइनल दौडबाट बाहिरिसकेका छन् ।


नेपाल र पाकिस्तान दुवैले आयोजक भारत र आमन्त्रित टिम कुवेतविरुद्ध पराजित हुँदै अन्तिम चारको दौडबाट बाहिरिएका हुन् । नेपालले पहिलो खेलमा कुवेतसँग ३-१ तथा दोस्रो खेलमा भारतसँग २-० को पराजय भोगेको थियो । पाकिस्तानले भने दुवै टिमविरुद्ध समान ४-४ गोल खाए पनि एक गोल पनि फर्काउन सकेन ।

सेमिफाइनल दौडबाट बाहिरिसकेका कारण मंगलबारको खेल नेपाल र पाकिस्तान दुवैका लागि औपचारिकतामा मात्र सिमित हुनेछ । तर दुवैको अपेक्षा भनेको कम्तिमा पनि एक खेल जित्नु रहनेछ ।

समग्रमा गत संस्करणको उपविजेता नेपाल र पाकिस्तानबीचको खेल प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ ।

इतिहास हेर्ने हो भने नेपाल र पाकिस्तानबीच हालसम्म १८ खेल भएका छन् र पाकिस्तानले सर्वाधिक ७ खेल जितेको छ । नेपालले ६ खेल जित्दा ५ खेल भने बराबरीमा टुंगिएको छ ।

तर गत नोभेम्बरमा काठमाडौँस्थित दशरथ रंगशालामा भएको मैत्रीपूर्ण खेलमा भने नेपालले पाकिस्तानलाई १-० गोलअन्तरले पराजित गरेको थियो । पाकिस्तानविरुद्ध एकमात्र गोल अन्जन विष्टले गरेका थिए ।


Author

थप समाचार
x