फुटबल

सिटीलाई 'ट्रेबल' जिताएका कप्तान गुन्डोगान बार्सिलोनामा आवद्ध

इकागज |
असार ११, २०८० सोमबार १५:२५ बजे

काठमाडौँ- गत सिजन इंग्लिस क्लब म्यानचेस्टर सिटीले 'ट्रेबल' जित्दा कप्तान रहेका ईल्के गुन्डोगान स्पेनिश क्लब बार्सिलोनामा आवद्ध भएका छन् । उनको म्यानचेस्टर सिटीसँगको सम्झौता सिजनको अन्त्यसँगै समाप्त भएको हो । जर्मन मिडफिल्डर गुन्डोगानले सिटीमा ७ वर्ष बिताएका थिए । 

बार्सिलोनाको विज्ञप्तिमा उल्लेख भएअनुसार गुन्डोगानसँग थप एक वर्ष बस्ने विकल्पसहित ३० जुन २०२५ सम्म दुई सिजनका लागि सम्झौता भएको हो । उनको ‘रिलिज क्लज’ ४०० मिलियन युरो तोकिएको छ ।


३२ वर्षीय मिडफिल्डर गुन्डोगानले २०२२-२३ सिजनमा ५१ खेल खेलेर ११ गोल गरेका थिए । उनले सिटीलाई ट्रेबल जिताउन महत्वपूर्ण भूमिका खेलेका थिए । गुन्डोगान २०१६ मा २० मिलियन युरोमा बोरुसिया डर्टमुन्डबाट सिटीमा आवद्ध सामेल भएका थिए । प्रशिक्षक पेप ग्वार्डिओलाले पहिलो खेलाडीको रुपमा गुन्डोगानलाई क्लबमा भित्र्याएका थिए ।

गुन्डोगनले पाँच इंग्लिस प्रिमियर लिग उपाधि, एक च्याम्पियन्स लिग, दुई एफए कप, चार काराबाओ कप र दुई कम्युनिटी शिल्डसहित १४ ट्रफी जिते ।


Author

थप समाचार
x